वीरगन्जमा एक पुरुसको मूत्यु सङगै ज्यान गुमाउनेको संख्या ६० पुगेको छ

२१ साउन, काठमाडौं । नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको छ । आज बिहान पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर १५ का ४६ वर्षका पुरुषको वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा ज्यान गएको पर्साका एसपी गंगा पन्तले जानकारी दिनुभयो ।

गएको शुक्रबार कोरोना पुष्टि भएका ति पुरुषको स्वास्थ्यमा समस्या आएपछि गएराति वीरगन्ज हेल्थ केयर अस्थायी कोभिड अस्पताल भर्ना गरिएको थियो । यसअघि झाडा पखलाले सिकिस्त भएपछि उपचारको लागि वीरगंजको नेशनल मेडिकल कलेजमा लैजाने क्रममा अस्ति सोमबार ज्यान गुमाएकी पर्साकै पोखरीया नगरपालिका वडा नम्बर ९ की १८ वर्षकी किशोरीको मृत्युपछि गरिएको उनको परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर मदन उपाध्यायले जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ६० पुगेको हो । अहिलेसम्म ४ लाख ६ हजारको परीक्षण गरिएकोमा २१ हजार ९ जनामा कोरोना पुष्टि भएको छ । जसमध्ये १५ हजार २६ जना उपचारपछि निको भएका छन् भने ५ हजार ९ सय २५ जना आइसोलेशनमा र १० हजार ४ सय ५२ जना क्वरेन्टीनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।