पार्टीलाई निकास दिने जिम्मेवारी ओलीकाे हाे : नेकपा प्रवक्ता श्रेष्ठ

साउन २०, सत्तारूढ दल नेकपामा देखिएको समस्यालाई निकास दिने पहिलो जिम्मेवारी प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी ओलीको नै रहेको पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभएकाे छ ।

गृह जिल्ला गोरखा पुगेका श्रेष्ठले मंगलबार सञ्चारकर्मीसँगको कुराकानीमा बैठकबाटै पार्टीमा अहिले देखिएको समस्या समाधान हुने बताउनुभयाे । ‘पार्टीको बैठक हुनुपर्छ, अनिवार्य छ, स्थायी कमिटीको जारी बैठकलाई सुचारु गर्नुपर्छ,’ उहाँले भन्नुभयाे ‘पार्टीको पहिलो अध्यक्ष बैठकमा आउनैपर्छ, बैठकमा नै आफ्ना कुरा राख्नुपर्छ,अरुको कुरा सुन्नुपर्छ, पहिलो अध्यक्ष र प्रधानमन्त्री हुनुको नाताले निकास दिने जिम्मेवारी पनि उहाँकै हुन्छ ।’

समाजवाद उन्मुख समृद्धि हासिल गर्ने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेर पार्टी एकता भएको उहाँले बताउनुभयाे । ‘समाजवादमा जाने उद्देश्यलाई केन्द्रबिन्दुमा राखेका छौं, यो उद्देश्यबाट कोहि विचलित हुन सक्दैन,’ उहाँले भन्नुभयाे,‘ पार्टी एकता कायम रहन्छ, सुदृढ गरेर अघि बढिन्छ, फुट हाम्रो नियति हुँदैन ।’ दुई वा एक पद छाड्ने भन्ने कुरा पार्टीको औपचारिक प्रस्ताव नरहेको प्रवक्ता श्रेष्ठको भनाइ थियो ।

[sidebar name="button post"]