उपत्यकाबासीलाई स्वाब संकलन गर्न आफैं अस्पताल जान सरकारकाे अनुराेध

साउन २०, सरकारले कोरोना संक्रमणको जोखिममा रहेको काठमाडौं उपत्यकाबासीलाई आफैं स्वाब संकलनका लागि अस्पताल जान आग्रह गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सूचना निकालेर उपत्यकाबासीलाई आफैं स्वाब संकलनका लागि अस्पताल जान आग्रह गरेको हो ।

शंकास्पद बिरामीको सम्पर्कमा आएका, जोखिमयुक्त ठाउँबाट काठमाडौं आएकाले नजिकको स्वाब संकलन केन्द्रमा बिहानको ९ बजेदेखि दिउँसो १ बजेसम्म स्वाब संकलन गरी परीक्षण गर्न सक्ने स्वास्थ्य मन्त्रालयले जनाएको छ । मन्त्रालयले काठमाडौंमा निकै जोखिम बढेकाले स्वास्थ्य सुरक्षा र सतर्कतामा विशेष जोड दिन आग्रह पनि गरेको छ । सबैले जनस्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्न, अत्यावश्यक काम नपरी घरबाहिर ननिस्कन, भीडभाड नगर्न र चाडपर्वहरु घरमै बसी मनाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालय आग्रह गरेको छ ।

यी हुन् मन्त्रालयले स्वाब संकलनका लागि ताेकेका १४ वटा अस्पताल पाटन अस्पताल, सिभिल अस्पताल, त्रिवि शिक्षण अस्पताल, टेकु अस्पताल, भक्तपुर अस्पताल, केएमसी अस्पताल, वीर अस्पताल, प्रसुती अस्पताल, शसस्त्र प्रहरी बल अस्पताल, ह्याम्स अस्पताल तथा नेपाल कोरिया मैत्री अस्पताल, विरेन्द्र अस्पताल, स्टार अस्पताल र नेपाल प्रहरी अस्पताल ।