विदेशबाट फर्किएका भन्छन् विदेशमा सिकेका सिप स्वदेशमै सदुपयोग गर्न चाहान्छौ

विश्वभरि कोरोना महामारीको सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा विदेशिएका नागरिक आफ्नै देश र घरमा फर्किरहेका छन् । सङ्क्रमण फैलिएपछि कामको सिलसिलामा भारत तथा तेस्रो मुलुकमा रहेका सुदूरपश्चिमका हजारौँ नागरिक घर फर्किएका छन् । यसैगरी कैलालीको टीकापुर नगरपालिकामा पनि लकडाउनपछि करिब चार हजार नागरिक गाउँ फर्किएका छन् ।

भारतलगायत तेस्रो मुलुकबाट एक हजार महिला र तीन हजार पुरुष टीकापुर भित्रिएका छन् । विदेशबाट घर फर्किएकाहरू विदेशमा केही न केही सीपहरु सिकेर आएका छन् । उनिहरुले विदेशमा सिकेका सिप स्वदेशमै यसको सदुपयोग गर्न पाए विदेश नजाने मनसाय बनाएका छन ।

टीकापुर नगरपालिका–४ इन्द्रैयाका जितबहादुर चौधरीले अब विदेश नफर्कने बरु नेपालमै केही गर्ने सोच रहेको र स्थानीय सरकारले सहयोग गरे यहीँ केही पेशा गर्ने योजना रहेको उहाले जानकारी दिनुभयो । चौधरीका अनुसार सरकारले काम गर्ने वातावरण बनाइदिए विदेशमा सिकेको कामलाई यहाँ व्यवसायका रूपमा गर्न चाहन्छु ।

टीकापुर–५ मनिकापुरका मीनबहादुर साउद छ वर्ष दुबईमा बसेर घर फर्कनुभएको छ । उहाँ पनि स्थानीय सरकारले आफ्नो सीपलाई हेरेर काम दिएको खण्डमा त्यसलाई आफ्नै देशमा प्रयोग गर्ने सोचमा हुनुहुन्छ ।साउदका अनुसार दुबईमा स्का फोल्डिङको काम सिकेर आएको र “सरकारले केही काम दिएको भए यही काम गरेर जीविका चलाउन हुन्थ्यो ।”

वडा नं १ का ओमप्रकाश राजवंशी पनि कामको सिलसिलामा २१ वर्ष भारतको दिल्लीमा बसेर घर फर्कनुभएको छ । उहाँले त्यहाँ बस्दा प्राविधिक सहयोगी र हाउस किपिङको काम सिक्नुभएको छ । कोरोना महामारीको समयमा गाउँ फर्कनुभएका उनी सरकारले आफूले सिकेको सीपलाई नेपालमै सदुपयोग गर्ने योजना बनाए विदेश नजाने बताउनुहुन्छ ।

टीकापुर नगरपालिकाले वैदेशिक रोजगारीबाट सीप सिकेर फर्केका नागरिकलाई रोजगारी सिर्जना गर्ने नीति लिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको बजेटमा रोजगारी सिर्जना गर्नका लागि रु ५० लाख रकम विनियोजन गरेको छ । टीकापुर नगरपालिकाका प्रमुख तपेन्द्रबहादुर रावलका अनुसार कोभिड–१९ का कारण स्वदेश फर्किएकाको माग र आवश्यकताका आधारमा रोजगार सिर्जना गर्ने खालका कार्यक्रम बनाउने र स्वदेश फर्किएका युवाले काम गर्न चाहे नगरपालिका काम तथा सीप विकासमा सघाउन तयार छ ।

नगरप्रमुख रावलले वैदेशिक रोजगारीमा गएर काम सिकेका नागरिकको सीपलाई सदुपयोग गर्न सके स्वदेशमै रोजगारीका अवसर दिए नगरपालिकाको विकास र आम्दानीमा टेवा पुग्ने बताउनुभयो । टीकापुर नगरपालिकाको जनसङ्ख्या ९० हजार रहेको छ । तीमध्ये १८ हजार नागरिक रोजगारीको सिलसिलामा भारत तथा अन्य मुलुकमा कार्यरत छन् ।