रमिता दंगाल
१५ श्रावण, काठमाडौँ । आज साउन १५, खीर खाएर मनाइँदैछ। हरेक वर्ष साउन १५ गतेका दिन खीर खाएर रमाइलाे पर्वकै रुपमा मनाउने गरिन्छ ।
परम्परा अनुसार अाज घरघरमा खीर र मिष्ठान्न भोजन खाएर यो पर्व मनाइँदैछ । साउन महिनामा मासुभन्दा दुधको परिकार खानुपर्छ भन्ने मान्यता पनि छ । साउन महिना धार्मिक महत्वले भरिएको महिना र सकेसम्म मासु खान नहुने भएकाले खीरकाे महत्त्व छ । आफ्नो शरीरलाइ चाहिने बलशक्ति पाइने भएकाले खीरकाे महत्त्व रहेकाे संस्कृतिविद् ओम धौबडेलले बताउनु भयो। खिर आफुले पनि खाने र अरुलाई पनि दान गर्ने चलन रहेको उँहाले बताउनुभयो।
हिन्दू धर्मावलम्वीहरुका लागि साउन महिनामा भगवान शिवको पूजा आराधना गर्ने महिना भएकाले एक महिनासम्म माछा–मासु नखाएर शिवभक्तहरूले भगवान शिवको पूजा गर्ने गर्दछन् । गर्मी महिना भएकोले शरीरमा दाद, खटिरा र लुतोजस्ता रोगले आक्रमण गर्ने भएकोले रोगप्रतिरोधात्मक शक्ति बढाउनुपर्ने हुन्छ । जसका कारण साउन महिना दूध तथा दूधबाट बनेका पाेषिला परिकारहरू, खासगरी खीर खाने चलन छ । यससँगै माैसमी फलफूल र मसला पनि खाने गरिन्छ ।
खिरलाइ पवित्र खाद्यान्न मानेर चढाउने गरिन्छ । खीर भगवान विष्णु र लक्ष्मीलाई मन पर्ने सात्विक भोजन रहेको संस्कृतिविद् धौबडेलले जानकारी दिनुभयो। वर्ष दिनभरिमा कहिले जौको सातु र सर्वत, कहिले दही चिउरा, क्वाँटी खाए जस्तै गरी हरेक साउन १५ मा खीर पकाएर आपसमा बाँडेर खाने चलन छ । यसकाे साँस्कृतिक मात्रै नभई वैज्ञानिक महत्व पनि छ ।
नेपाल कृषिप्रधान देश भएको र बहुसंख्यक नेपाली कृषि पेसामा आश्रित भएकाले कृषकहरूले धान रोपेर काम सकेपछि खुसीयालीमा खीर खाने परम्परा विकास भएको संस्कृतिक मान्यता छ । वर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन तथा उर्जामय राख्न खीर खाने चलन चलेको मानिन्छ ।