निर्मला पन्त बलात्कार-हत्या प्रकरण : एसपी बिष्टसहित ८ प्रहरीलाई सफाइ

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार-हत्या प्रकरणको अनुसन्धानका क्रममा कञ्चनपुर जिल्ला अदालतले ‘यातना दिएको’ र सार्वजनिक न्यायविरूद्धको कसुर’मा मुद्दा परेका आठ जना प्रहरीलाई सफाइ दिएको छ। कञ्चनपुरका तत्कालिन एसपी डिल्लीराज बिष्टसहित मुद्दा परेका आठै जना प्रहरीलाई बिहीबार न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले सफाइ दिएको हो।

सफाइ पाउनेमा बिस्टसहित सिआइबीका तत्कालीन डिएसपी अंगुर जिसी, प्रहरी कर्मचारीहरू ज्ञानबहादुर सेठी, हरसिंह धामी, रामसिंह धामी, एकेन्द्र खड्का, जगदीशप्रसाद भट्ट, र चाँदनी साउद हन् । उनीहरूमाथि लागेको आरोप सावित नभएपछि सफाइ दिइएको जिल्ला अदालत कञ्चनपुरका श्रेष्तेदार यदुनाथ शर्माले बताए।

‘श्रेष्तेदार यदुनाथ शर्माका अनुसार निजलाई यातना दिएको नदेखिएको, रिपोर्टमा कुनै घाउचोट नदेखिएको, अदालतमा आउँदा पनि प्रहरीले यातना दिएन भने आएको बयान र प्रमाण लुकाउने छिपाउने गरेको नदेखिएको भन्दै उनीहरूलाई सफाइ दिने फैसला भएको हो ।

२०७५ साउन ११ गते उखुबारीमा मृत अवस्थामा फेला परेकी निर्मला १० गते साथीको घरमा पढ्न भन्दै गएकी थिइन्। उनीमाथि बलात्कार भएको ले देखाएको थियो। पोष्टमार्टम रिपोर्टका अनुसार बलात्कार गरी हत्या गरेको देखियो । प्रहरीले स्थानीय दीलिपसिंह बिष्टलाई बलात्कार गरी हत्या गरेको आशंकामा पक्राउ गर्यो। बिष्टले आफूले निर्मलालाई हत्या गरेको स्वीकारे पनि निर्मलाको भजाइनल स्वावको नमूनासँग बिष्टको डिएनए नमिलेपछि उनलाई छोडिएको थियो।

कन्चनपुरमा छानबिनदेखि नै प्रहरीले लापरबाही गरेको भन्दै आन्दोलनसमेत भए । आन्दोलनमा एक जनाको ज्यान पनि गयो। सरकारले र प्रहरीले छानबिन समितिहरू बनाए । तर अपराधी पत्ता लागेको छैन। ती छानविन समितिले लापरवाही गरेको र प्रमाण नष्ट गरेको प्रतिवेदन दिएपछि बिष्टसहित ८ प्रहरीमाथि मुद्दा चलाइएको थियो ।