महामारीमा मानव बेचबिखन बढ्दो

१५ साउन , काठमाडौं । आज जुलाई ३० अर्थात् अन्तर्राष्ट्रिय मानव बेचबिखनविरुद्ध दिवस । यौन व्यवसाय, जोखिमपूर्ण घरेलु श्रम, होटल, डान्स रेष्टुरेन्टमा काम गराउन, लागुपदार्थ ओसारपसार र मानव अङ्ग बेचबिखनजस्ता कामका लागि मानव बेचविखन हुने गरेको छ । नेपाल सरकारले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी कानून ल्याए पनि प्रभावकारी कार्यान्वयन हुन नसक्दा बेचबिखन नियन्त्रण हुनसकेको छैन ।

कोरोना भाइरस सङ्क्रमणको महामारी कम गर्न सरकारले चैत ११ गतेदेखि बन्दाबन्दी गरेपछि उद्योग, व्यापार व्यवसाय सबै ठप्प भए । यही परिस्थितिको फाइदा उठाउँदै मानव बेचबिखनमा संंलग्नहरु फेरि सक्रिय हुन थालेको मानवअधिकारकर्मी बताउँछन् ।

मानव बेचबिखनका क्षेत्रमा कार्यरत संस्थाका अनुसार यो समयमा महिलासँगै बालबालिका पनि उत्तिकै जोखिममा छन् । गाउँ, टोलमा क्रियाशील दलालले निमुखा, अशिक्षित युवायुवतीलाई गरिबी, बेरोजगारी र दयनीय स्थितिको लाभ उठाउँदै विदेशमा राम्रो काम र दाम पाइने र जीवन सुखी हुने सपना देखाउने भएकाले सचेत हुनु आवश्यक छ ।

माइती नेपाल भैरहवाका प्रमुख माया क्षेत्रीका अनुसार बन्दाबन्दीकै समयमा पनि भारतका विभिन्न स्थानबाट सात महिलाको उद्वार गरिएको थियो । भने असार महिनामा मात्रै चार महिलाको उद्वार गरिको थियो । बन्दाबन्दीमा रुपन्देहीका दुई, पाल्पा, काठमाडौँ, बाँके, मकवानपुरलगायतका जिल्लाका सात महिलाको सीमा क्षेत्र तथा भारतका विभिन्न स्थानबाट प्रहरीको सहयोगमा उद्वार गरी नेपाल ल्याइएको थियो ।

“अब मानव बेचबिखनको झन् जोखिम छ, लामो समयको बन्दले आर्थिक अवस्था कमजोर भएको फाइदा उठाउँदै दलालहरु झन् सक्रिय हुँदैछन्”, उहाँले भन्नुभयो, “अबको समयमा मानव बेचबिखनविरुद्ध झनै सचेतना दिनु आवश्यक छ ।”

माइती नेपाल भैरहवाका अनुसार आव २०७६÷७७ मा सीमाबाट १४३ महिलाको उद्वार गरिएको छ भने नौ जनाको भारतका विभिन्न स्थानबाट उद्वार गरी नेपाल ल्याइएको थियो । यो वर्ष मानव बेचबिखनसम्बन्धी तीनवटा मुद्दा दर्ता भए । यस्तै गत आव २०७५÷७६ मा सीमा क्षेत्रबाट दुई सय ५३ र भारतका विभिन्न स्थानबाट ५० जनाको उद्वार गरी आफन्तको जिम्मा लगाइएको थियो ।

आव २०७४÷७५ मा सीमा क्षेत्रबाट २७२ महिलाको उद्वार गरिएको थियो भने १० जनालाई भारतका विभिन्न स्थानबाट उद्वार गरी आफन्तको जिम्मा लगाइको थियो । यो आवमा मानव बेचबिखनका १५ मुद्दा दर्ता भएका थिए । यो सङ्ख्या माइती नेपालको सम्पर्कमा आएकाहरूको मात्र हो ।

नेपालको संविधानले मानव बेचबिखन गर्न नपाइने संवैधानिक सुनिश्चितता गर्दै धारा २९ को उपधारा ३ र ४ मा कसैलाई पनि बेचविखन गर्न, दास वा बाधा बनाउन नपाइने, कसैलाई पनि निजको इच्छाविरुद्ध काममा लगाउन नपाइने व्यवस्था गरेको छ ।

मानव बेचबिखन र ओसारपसार नियन्त्रण ऐन २०६४ ले कुनै पनि प्रयोजनका लागि कुनै व्यक्तिलाई बिक्री वा खरिद गर्ने, कसैलाई आर्थिक लाभसहित वा लाभविना जबर्जस्ती वेश्यावृत्तिमा लगाउने, वेश्यावृत्तिमा संलग्न हुनेजस्ता गतिविधिलाई मानव बेचबिखन मानेको छ ।

[sidebar name="button post"]