सुदूरपश्चिम प्रदेश सरकारद्वारा कोभिड–१९ को स्वाब परीक्षण गर्नका लागि जिल्ला अस्पतालमा आज पिसिआर मेशिन ल्याइएको छ । प्रदेश सरकारद्वारा खरिद गरिएको मेशिन र स्वाब परीक्षण गर्ने सामग्री दुईवटा ट्रकमा ल्याइएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।
उक्त पिसिआर मेशिनले एक पटकमा ९६ नमूना परीक्षण गर्ने र दिनमा ७०० जति नमूना परीक्षण गर्छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष यज्ञराज जोशीका अनुसार सुदूरपश्चिम प्रदेश सरकारले गत चैतमै कञ्चनपुर, बैतडी र डोटीमा पिसिआर परीक्षण शुरु गर्ने र त्यसका लागि पिसिआर मेशिन खरिद गर्ने निर्णय गरेअनुसार उक्त मेशिन खरिद गरी जिल्ला अस्पताल ल्याइएको हो ।
जिल्लामा पिसिआर मेशिन राख्ने प्रयोगशाला पनि निर्माण कार्य सम्पन्न भइसकेको छ । अहिले कूल ५८३ जना कोरोना सङ्क्रमित छन् । रु ४० लाख लागानीको उक्त मेशिनबाट यही साउन २० गतेदेखि परीक्षण कार्य शुरु गर्न सकिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख रमेश मलासीले बताउनुभयो ।
यसअघि जिल्लामा कोरोना परीक्षण गर्ने मेशिन नभएका कारण स्वाब काठमाडौँस्थित टेकु अस्पतालमा रहेका प्रयोगशालामा पठाउने गरिएको थियो ।