गल्याङ नगरपालिकाले प्राकृतिक प्रकोपबाट मृत्यु भएकाका परिवारलाई रु एक लाख सहयोग गर्ने भएको छ । प्राकृतिक विपत्तिमा परी मृत्यु भएमा मृतकका परिवारलाई नगर कार्यपालिकाले रु एक लाख राहतस्वरुप दिने निर्णय गरेको हो ।
प्राकृतिक प्रकोपका कारण नगरवासी घाइते भएमा उपचारका क्रममा खर्च भएको बिलका आधारमा रु २५ हजारसम्म राहतस्वरुप सहयोग गर्ने निर्णयसमेत गरिएको नगरपालिकाले जनाएको छ ।
नगरप्रमुख भुपराज अधिकारीको अनुसार केही दिनदेखि परेको लगातारको बर्षातका कारण नगरपालिका भित्रका केही स्थानमा मानवीय तथा भौतिक क्षति भएकाले यो निर्णय गरिएको छ । विस्थापित परिवारलाई नगर कार्यपालिकाको बैठकले आवश्यकताका आधारमा खाद्यान्न सहितका आवश्यक सामग्री सहयोग गर्ने निणर्य गरेको प्रमुख प्रशासकीय अधिकृत ईश्वरीप्रसाद पाण्डेले जानकारी दिनुभयो ।
नगरपालिकामा पहिराका कारण दुईको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् । करीब दुई दर्जन घरपरिवार विस्थापित भएका छन् भने कैयौँ घर उच्च जोखिममा रहेका छन् ।