भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

गत सोमबार रातिबाट सक्रिय रहेको मनसुनी गतिविधि अझै केही दिन कायम रहने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजिक रहेका हुनाले पुनःमनसुन सक्रिय भएको र आगामी शुक्रबारसम्म कायम रहने मौसमविद् मञ्जु बादीले बताउनुभयो ।

सोमबारदेखि देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै केही स्थानमा भारी वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले मनसुन सक्रिय भएसँगै ती स्थानमा नदीमा पानीको बहाव बढ्ने र पहाडमा भूक्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल-पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ ।

दिउँसो देशका अधिकांश स्थानमा सामान्य बदली रही धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षाका साथै गण्डकी, प्रदेश ५, सुदूरपश्चिम प्रदेश, प्रदेश १, २ र वाग्मती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको बताइएको छ ।