शङ्खरापुर नगरपालिका–२ पटाप बस्ती पहिरोको जोखिममा

शङ्खरापुर नगरपालिका–२ पटापको बस्ती पहिरोको जोखिममा परेको छ । काठमाडौँ जिल्लाकै दुर्गम तथा विकट मानिने पटापमा वर्षा शुरु भएसँगै आएको पहिरोले एकै ठाउँका आठभन्दा बढी घर उच्च जोखिममा परेका छन् । पहिरोको उच्च जोखिम पर्नेमा एउटै टोलका यदुनाथ दङ्गाल, गोविन्द दङ्गाल, रमेश लामिछाने, दिपु तामाङ तथा कार्की टोलका हीराप्रसाद खड्कालगायतको घर रहेको समाजसेवी शङ्कर तिवारीले जानकारी दिनुभयो ।

जुनसुकै बखतमा पनि मानवीय एवं भौतिक क्षति हुने सम्भावना देखिएकाले सम्बन्धित निकाए एवं स्थानीय सरकारले तुरुन्त उचित समाधानसहित स्थानान्तरण अथवा जोखिम न्यूनीकरणको लागि पहलकदमी चाल्नुपर्ने समाजसेवी तिवारीले बताउनु भयो । पीडित यदुनाथ दङ्गालका अनुसार सरकारको खोजी भनेकै असजिलो र असामान्य परिस्थितिमा हुने भएकोले जोखिममा परेकाको उचित व्यवस्थापनका लागि सरकार यथाशीघ्र लाग्नुपर्छ ।

जुनसुकै समयमा पहिरो खसेर मानवीय तथा भौतिक क्षति हुने भएकाले छिटोभन्दा छिटो पहिरो रोकथामका लागि स्थानीय तथा केन्द्रीय सरकारले ध्यान दिएमात्र क्षतिबाट बच्न सकिने स्थानियको भनाइ छ ।