खुकुरी प्रहार गर्ने पक्राउ

धारिलो हतियार खुकुरी प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय मेलम्चीका प्रहरी निरीक्षक फलबहादुर तामाङका अनुसार मेलम्ची नगरपालिका–४ बस्ने थानकुनेका सोमबहादुर तामाङलाई पक्राउ गरिएको हो ।

सोमबहादुरले सोही ठाउँका साइला तामाङसँग सामान्य भनाभन हुँदा खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारको सूचना पाउनासाथ इलाका प्रहरी कार्यालय मेलम्ची र भोटेचौरको टोलीले सोमबहादुरलाई घर नजिकै लुकिरहेको अवस्थामा पक्राउ गरेको प्रहरीले बताएको छ ।

प्रहरी निरीक्षक तामाङका अनुसार घाइते साइलाको दीर्घायु अस्पातल काठमाडौँमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने सोमबहादुरलाई नियन्त्रणमा लिएर मङ्गलबार जिल्ला अदालत सिन्धुपाल्चोकबाट म्याद थप आदेश लिई अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको प्रहरी निरीक्षक तामाङले जानकारी दिनुभयो ।

आइतबार आफ्नै छोरालाई खुकुरी प्रहार गरी घाइते बनाउने बाबु पक्राउ परेका थिए । मेलम्ची–१२ थाक्लेका ५७ वर्षीय नवराज तामाङले आफ्नै छोरा २८ वर्षीय पूर्णबहादुरलाई खुकुरी प्रहार गरेका हुन् ।

मेलम्चीका प्रहरी निरीक्षक तमाङका अनुसार घरायसी विवादले खुकुरी प्रहार गर्दा पूर्णबहादुरको टाउको, घुँडा, पैतालालगायत भागमा काटिएको थियो। घम्भीर घाइते पूर्णबहादुरको धुलिखेल अस्पातलमा उपचार भइरहेको छ ।

प्रहरी टोलीले घटना थाहा पाउने बित्तिकै घर नजिकैबाट खुकुरी प्रहार गर्ने बाबुलाई नियन्त्रणमा लिएर जिल्ला अदालत सिन्धुपाल्चोकमा पेश गरेको छ ।

अदालतले १० दिन थुनामा राखी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको निरीक्षक तामाङले जानकारी दिनुभयो । घाइतेको अवस्था खतरामुक्त रहेको उहाँले बताउनुभयो ।