जिल्लाको सोताङबाट चार जुवाडे रु १४ लाखभन्दा बढी नगदसहित पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय सोताङका प्रहरी निरीक्षक अनिल लिम्बूको नेतृत्वमा खटिएको टोलीले जुवा खेलिरहेको अवस्था उनीहरुलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले जनाएको छ ।
सोलुखुम्बु प्रहरी प्रमुख टेकुनन्द इवा लिम्बू अनुसार सोताङ गाउँपालिका–५ शिवटार बजार नजिकैको पसलघरमा रु १४ लाख ६५ हजार नगदसहित जुवा खेलिरहेको अवस्थामा उनीहरुलाई मङ्गलबार पक्राउ गरिएको छ । प्रहरीको अनुसार पक्राउ पर्नेमा सोताङ गाउँपालिका–२ का दुर्गाप्रसाद राई, वडा नं ४ का दुर्गाप्रसाद राई, थुलुङ दूधकोशी गाउँपालिका–७ देउसाका दीपक किराँती र फ्रेमराज खत्री रहेका छन् ।
कृषि विकास बैंकको रु २९ लाखको चेकसमेत बरामद गरिएको उनीहरुलाई अहिले जिल्ला प्रहरी कार्यालय सल्लेरीतर्फ ल्याइँदै छ । यति ठूलो परिमाणमा जुवा खालबाटै पक्राउ परेको यो जिल्लाकै पहिलो घटना रहेको प्रहरीले जनाएको छ ।