अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिएको भन्दै नेपाल आयल निगमले मूल्य बढाउने तयारी गरेको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै भारतमा डिजेलको भाउ दिनप्रति दिन बढेपछि अगष्टमा मूल्य बढाउने तयारी भएको जनाइएको छ ।
भारतमा डिजेलको मूल्य बढ्दा प्रत्यक्ष असर नेपालमा पर्न थालेपछि निगमलाई पेट्रोल, डिजेल लगायतका पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्नुपर्ने दबाब बढेको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य आकासिनु, भारतसँग सीमा जोडिएका नाकामा मूल्यान्तर बढेर जानु, निगमको घाटा एकपछि अर्को बढेर जानु, विगतमा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा नेपालले स्वचालित मूल्य समायोजन नगर्नु जस्ता कारणले निगम मूल्य बढाउनैपर्ने दबाबमा पुगेको हो ।
पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय बजारमा आउने फेरबदलअनुसार नेपाल आयल निगमले प्रत्येक १५÷१५ दिनमा मूल्य समायोजन गर्दै आएको थियो । प्रत्येक महिनाको १ र १६ तारिखमा मूल्य समायोजन गर्दै आएको निगमले बन्दाबन्दीको समयमा खपतमा कमी आएको भन्दै मूल्य समायोजन गरेको थिएन् ।
हाल काठमाडौँमा पेट्रोल प्रतिलिटर रू १०२, डिजेल र मट्टीतेल प्रतिलिटर रू ८८ मा बिक्री वितरण हँुदै आएको छ । इण्डियन आयल कर्पाेरेशनले गत जुलाई १६ तारिखमा पठाएको नयाँ मूल्यअनुसार निगमले मूल्य समायोजन नगर्दा निगमलाई रु छ करोड आठ लाख घाटा भएको प्रवक्ता उपाध्यायले जानकारी दिनुभयो ।
पछिल्लो एक महिनाको अवधिमा अन्तर्राष्ट्रिय बजारमा एलपी ग्यासको मूल्य निरन्तर बढ्दै गएको र भारतीय बजारमा डिजेलको मूल्यलगातार बढिरहेका कारण निगम घाटा धान्न नसक्ने अवस्थामा पुगेको जनाइएको छ । कोरोना महामारी र बन्दाबन्दीबाट विश्व क्रमशः पुरानै लयमा फर्किन थालेसँगै अन्तर्राष्ट्रिय बजारमा भारी मूल्य वृद्धि हुन थालेको छ ।