उपत्यकामा खानेपानीको बढ्दो उत्पादनले बढ्दो वितरण

वर्षासँगै काठमाडौँ उपत्यकामा पानीको उत्पादन बढेपछि दैनिक १७ करोड लिटरसम्म पानी उत्पादन भइरहेको छ । पानीको उत्पादन बढेसँगै वितरण पनि बढाइएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) ले जनाएको छ ।

उपत्यकाका विभिन्न स्रोतका पानी सङ्कलन गरेर वितरण गर्दै आएको  केयुकेएलले अहिले तीनदेखि चार दिनको अन्तरालमा पानी वितरण गरी रहेको छ । केयुकेएलका प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले भन्नुभयो, “असोजपछि पानीको उत्पादन कम हुँदा हामी वितरण पनि कम गर्छौँ ।”

उपत्यकाका स्रोतबाट मात्रै पानी पर्याप्त नहुँदा उपत्यकामा सधैँ पानीको हाहाकार भइरहेको छ । काठमाडौँ उपत्यकाको खानेपानीको समस्या समाधानका उपायका रुपमा हेरिएको मेलम्ची खानेपानी आयोजनाले उपत्यकाको पानीको हाहाकार मेट्ने आस गरिएको छ ।

खानेपानी तथा सरसफाइ मन्त्रालयले आयोजनाको सुरुङ परीक्षण गर्दा भएको दुर्घटनापछि मेलम्चीको पानी आउन अझै ढिलाइ हुने देखिएको छ । लिमिटेडले विभिन्न स्थानमा डिप बोरिङ गर्ने र उपत्यका नजिकै स्रोतको समेत पहिचान गरिरहेको छ । उपत्यकामा दैनिक पानीको माग ४० करोड रहेको छ ।

उपभोक्ताले लिमिटेडले पूर्ति गर्न नसकेको पानी आकाशे पानी सङ्कलन गरेर र ट्याङ्करमार्फत खरिद गरेर प्रयोग गर्दै आएका छन् ।