चार महिनादेखि बन्द रहेको नयाँ बसपार्क सञ्चालन गर्ने तयारी

चार महिनादेखि बन्द रहेको नयाँ बसपार्क प्रविधिको प्रयोग गरेर बस सञ्चालन गर्ने तयारी गरिएको छ ।

कोरोना सङ्क्रमणका कारण गत चैत १० गतेदेखि बन्द रहेको नयाँ बसपार्कले कोरोना सङ्क्रमण फैलन नदिन प्रविधिको प्रयोग गर्न लागेको हो । सरकारले लामो दूरीका सवारी साधन भदौ १ देखि सञ्चालन गर्ने निर्णय गरेको छ ।

नयाँ बसपार्क सञ्चालन गरेको ल्होत्से बहुउद्देश्यीय प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर बसपार्कभित्रका कर्मचारी, चालक, सहचालक र यात्रुलाई कोराना सङ्क्रमण हुन नदिन नयाँ बसपार्कले प्रविधिको प्रयोगलाई अगाडि बढाएको बताउनुहुन्छ । “बसको टिकट लिन लाइन बस्दा कोरोना सङ्क्रमण फैलनसक्ने सम्भावनालाई ध्यानमा राखेर हामीले सामाजिक दूरी कायम गरी ‘टोकन सिस्टम’बाट टिकट काट्नसक्ने व्यवस्था मिलाउन लागेका छौँ”, उहाँ भन्नुहुन्छ ।

बसपार्कमा टिकट काउन्टरमा बस्ने कर्मचारीलाई ल्होत्से बहुउद्देश्यीय प्रालिले विभिन्न यातायात कम्पनीको सहकार्यमा अनिवार्य पोशाक र परिचयपत्रको व्यवस्था यसअघि नै मिलाइएको छ । यात्रुको सहजताका लागि अनलाइनमार्फत टिकट लिनमिल्ने व्यवस्था प्रालिले मिलाउन लागेको छ ।

नयाँ बसपार्कले आगामी भदौ १ देखि सञ्चालन हुने सार्वजनिक सवारी साधन सरसफाइलाई विशेष प्राथमिकतामा राखेर हरेक दिन सरसफाइ र स्यानिटाइजर प्रयोग गर्न लगाउनेछ । यात्रुले बसभित्र प्रवेश गरेपछि अनिवार्यरूपमा स्यानिटाइजर र मास्कको प्रयोग गर्नुपर्ने अध्यक्ष कुँवरले जानकारी दिए।

ल्होत्से बहुउद्देश्यीय प्रालिले चालक, सहचालक र यात्रुको स्वास्थ्यलाई ध्यानमा राखेको छ । निःशुल्क परामर्श तथा प्राथमिक उपचार गर्दै आएको ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालसँगको सहकार्यमा स्वास्थ्य उपचार तथा परामर्श केन्द्र स्थापना गरेको छ ।विभिन्न जिल्लामा जाने गरेका लामो दूरीका सवारी साधनलाई एकै ठाउँबाट सञ्चालन गर्न सकिए कोरोना सङ्क्रमण फैलने क्रममा कमी आउने देखिन्छ ।

[sidebar name="button post"]