पहिरोले गर्दा तातोपानी नाका फेरि बन्द

अविरल वर्षापछि आएको बाढी पहिरोले अरनिको राजमार्गको जुरेबाट तातोपानीसम्मको सडकखण्ड कटान गरेपछि बल्लबल्ल खुलेको नेपाल–चीन व्यापारिक नाका तातोपानी फेरि बन्द भएको छ ।

सडक विभागले चासो नदिँदा अरनिको राजमार्गको कटान भएको सडकखण्ड मर्मत हुनसकेको छैन । चीनमा कोरोनाको सङ्क्रमण बढेपछि विसं २०७६ माघ १३ देखि बन्द नाका गत चैत १६ गतेबाट पुनः सञ्चालनमा आएको थियो । नाका भित्रिसकेका करोडौँ मूल्यका सामग्री तातोपानीमै रोकिएको तातोपानी सुक्खा बन्दरगाह भन्सार प्रमुख लालबहादुर खत्रीले जानकारी दिनुभयो ।

नाका भित्रिसकेका करोडौँ मूल्यका सामग्री तातोपानीमै रोकिएका छन् । रोकिएका सामग्रीमा कोरोना नियन्त्रणसँग सम्बन्धित स्वास्थ्य सामग्री, तयारी पोशाक र कृषिजन्य सामान रहेको भन्सार प्रमुख खत्रीले जानकारी दिनुभयो ।

केही दिनअघि आएको बाढीपहिराले सडक कटानपछि एम्बुलेन्सलगायत अतिआवश्यक सवारी साधनसमेत सञ्चालन हुन नसकेपछि बाह्रबिसे नगरपालिकाले जुरेमा तत्कालै सडक मर्मत गरेर यातयातका साधन सञ्चालन गरे पनि त्यहाँभन्दा माथि भने समस्या देखिएको छ ।

सडक कार्यालय चरिकोटले सडक मर्मत गर्नका लागि एउटा स्काभेटर ल्याएर काम गरे पनि स्काभेटर बिग्रिएपछि समस्या भएको बाह्रबिसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले जानकारी दिनुभयो ।