मङ्गलबारदेखि अवरुद्ध मध्यपहाडी राजमार्ग सञ्चालनमा

अविरल वर्षापछि आएको पहिरोका कारण अवरुद्ध बनेको राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी राजमार्गको बागलुङ खण्ड सञ्चालनमा आएको छ । पहिरोका कारण मङ्गलबारदेखि अवरुद्ध मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड बिहीबार साँझदेखि एकतर्फी सञ्चालनमा आएको हो ।

बागलुङ नगरपालिका–३ बोक्सेमा गएको ठूलो पहिरोका कारण अवरुद्ध बनेको लोकमार्ग आयोजना कार्यालयको सक्रियतामा तीन दिनपछि खुलाइएको मध्यपहाडी पुष्पलाल लोकमार्ग कार्यालय पर्वतका प्रमुख आशिष थापाले बताउनुभयो ।

बुधबारदेखि नै पहिरो हटाउन प्रयास भए पनि ठूलो पहिरो भएका कारण समस्या भएको लोकमार्ग खुलाउन खटिएका जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिनुभयो ।