नवलपरासी स्थित नारायणी नदीले बगाएर एक व्यक्ति बेपत्ता भएका छन् ।
नदीले बगाएर ल्याएको दाउरा छोप्न गएका सुस्ता गाउँपालिका–५ का ५२ वर्षीय राधेश्याम कोइरीलाई आज बिहान नारायणीले बगाएको हो । सुस्ता–५ पक्लिहवास्थित ठोक्कर नं ३ मा दाउरा छोप्ने क्रममा चिप्लिएर कोइरी नदीमा खसेको र अहिलेसम्म फेला नपरेको जिल्ला प्रहरी कार्यालय परासीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राजु लामाले जानकारी दिनुभयो ।
प्रहरी र स्थानीयवासीको टोलीले उनको खोजी गरिरहेको छ ।अझै फेला परेका छैनन् । नारायणी तटीय क्षेत्रका बासिन्दाले नदीले बगाएर ल्याउने काठ र वन्यजन्तु छोप्न खोज्दा वर्षेनि जनधनको क्षति हुने गरेको छ ।