पहिरोको कारण राहत वितरण अलपत्र

जिल्लाको पूर्वीउत्तरी क्षेत्रका लागि वितरण गर्न ल्याएको राहत सामग्री आधा बाटोमै रोकिएको छ ।

लगातारको वर्षाका कारण मार्तडी–कोल्टी सडक बन्द भएपछि बीच बाटामा पुगेको राहत अलपत्र अवस्थामा रहेको त्यस क्षेत्रका स्थानीय पालिकाले जानकारी दिएका छन् । पूर्वी–उत्तरी क्षेत्रमा पर्ने बूढीनन्दा नगरपालिका, हिमाली, स्वामिकात्र्तिक खापर गाउँपालिकासहित अतिविपन्न र गरिब परिवारका लागि आइएनएफ, एनएनडिएसडब्लुओ लगायतका संस्थाले राहत सामग्री ट्र्याक्टरमा लोड गरेर कोल्टी ल्याउन लागेका हुन् ।

मार्तडी–कोल्टी सडक खण्ड गत असार तेस्रो सातादेखि अवरुद्ध भएको छ । राहत सामग्रीसहित लाखौँको व्यापारिक सामग्री बोकेर हिँडेका ट्र्याक्टर पनि ठाउँठाउँमा अलपत्र अवस्थामा छन् । आइएनएफ नामक गैरसरकारी संस्थाले बूढीनन्दा नगरपालिकाका ४१० परिवारका लागि वितरण गर्न लागेको खाद्यान्न र सुरक्षा तथा सरसफाइ सामग्री बीच बाटोमै अलपत्र परेको छ ।

साँझ–बिहान छाक टार्नसमेत समस्या परेका परिवारलाई लक्षित गरेर वितरण गर्न लागिएको सामग्री बीचमै अलपत्र हुँदा दुःख लागेको अधिकृत भण्डारीको भनाइ छ । राहत पाउने आशाले लक्षित वर्गले दिनदिनै फोन गरिरहेका उहाँले बताउनुभयो । आठ÷दश जनालाई मात्र भए भरियामार्फत ढुवानी गर्न हुन्थ्यौँ यत्रो ठूलो सङ्ख्यामा समस्या भएको भण्डारीले बताउनुभयो ।

खाद्यान्न सामग्री ठूलो मात्रामा भएकाले मान्छेबाट बोकाएर सम्भव नभएको र भनेको समयमा खच्चड पनि सम्पर्कमा नआएका कारण खाद्यान्न ढुवानीमा समस्या देखिएको छ । पानीकै कारण खाद्यान्न बिग्रिने चिन्तासँगै लक्षित वर्गलाई समस्यामा सहयोग पुग्न नसक्नु समस्या देखिएको छ ।

विसं २०५६ मा निर्माण शुरु भएको मार्तडी–कोल्टी सडक २१ वर्षसम्म पनि पुरानै अवस्थामा रहेको छ । ४३ किलोमिटर सडकमा रु ३५ करोड बढी बजेट खर्च गरिए पनि बाटो सुधार हुन नसक्दा स्थानीयवासीलाई असारदेखि असोजसम्म सास्ती बेहोर्नुपरेको छ । बाटो अवरुद्ध हुँदा दैनिक उपभोग्य सामान ढुवानीमा समेत समस्या देखिएको छ । यो वर्ष भने कालोपत्रका लागि रु ९८ करोडको पहिलो चरणको ठेक्का भई निर्माण शुरु गरिसकिएको छ ।

[sidebar name="button post"]