प्युठानमा व्यावसायिकरूपमा नेपाली कागज उत्पादन शुरु गरिएको छ । विगत दुई वर्षदेखि प्युठान नगरपालिका–१० सारीबाङमा गौमुखी नेपाली कागज उद्योग सञ्चालन गरी व्यावसायिक उत्पादन शुरु गरिएको हो ।
जिल्लालाई नेपाली कागजमा आत्मनिर्भर बनाउने उद्देश्यले जङ्गलमा पाइने लोक्ता र खर सङ्कलन गरी नेपाली कागजको उत्पादन थालिएको उद्योग सञ्चालक नेगनसिंह कुँवरले बताउनुभयो । जिल्लामा नेपाली कागजको माग बढ्दै गएपछि उद्योग स्थापना गरी कागजको उत्पादन गर्न थालेको उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “कच्चा पदार्थको रुपमा प्रयोग हुने अर्को वस्तु खर भने जिल्ला बाहिरबाट ल्याउनुपरेको छ ।”
अड्डा अदालत, सरकारी कामकाजलगायत सरकारी कार्यालयमा हुने लिखतहरु तयार गर्नका लागि नेपाली कागज बढी प्रयोग गरिन्छ । उद्योगबाट दैनिक एक हजार पाना उत्पादन हुने गरेको छ । उद्योग सञ्चालनको पहिलो वर्ष रु २५ लाख, अघिल्लो आर्थिक वर्षमा रु ४० लाख कारोवार भएको बताउँदै उहाँले आगामी आर्थिक वर्षमा रु एक करोडको कारोेवार गर्ने लक्ष्य लिएको बताउनुभयो ।
उक्त उद्योगमा पहिलो चरणमा झण्डै रु १० लाख लगानीमा सञ्चालन गरिएको र अहिलेसम्म रु २५ लाख बराबरको लगानी पुगेको सञ्चालक कुँवरले बताउनुभयो । उद्योग स्थापनाका लागि डिभिजन वन कार्यालय प्युठानबाट रु दुई लाख ८५ हजार, घरेलु तथा साना उद्योग विकास समिति प्युठान र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रबाट रु ६०/६० हजार अनुदान पाएको उहाँले बताउनुभयो ।
नेपाली कागजका लागि आवश्यक पर्ने कच्चा पदार्थ लोक्ता जिल्लाको उत्तरी क्षेत्रका विभिन्न ठाउँबाट सङ्लकन गरिएको छ भने खर कपिलवस्तुको धानखोलाबाट आयात गर्ने गरेको उहाँले जानकारी दिनुभयो ।