यातायात व्यवसायी तथा मजदुरले यातायात क्षेत्रमा देखिएको विद्यमान समस्या समाधानको पहल गरिदिन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आग्रह गरेका छन् । यातायात क्षेत्रको वर्तमान समस्या समाधान गर्नका लागि निर्माण गरिएको कार्यदलले आज बिहान प्रचण्डलाई भेटेर यातायात क्षेत्रको विद्यमान समस्या समाधानका लागि भूमिका निर्वाह गरिदिन आग्रह गरेका हुन् ।
व्यवसायी तथा मजदुरले बैंक तथा वित्तीय संस्थाको किस्ता स्थगन गर्नुपर्ने, पुनःकर्जाको व्यवस्था गर्नुपर्ने, कागजात नवीकरणलाई सहज बनाउनुपर्ने, श्रमिकलाई नियमित निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गर्नुपर्ने, कोरोना बीमामा सरकार र व्यवसायीको ५० प्रतिशत योगदान हुनुपर्ने, यातायात मजदुरलाई स्वास्थ्य सामग्री तथा पिपिइ व्यवस्था मिलाउन मागसमेत गरेका छन् ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष तथा पदाधिकारी र तीनवटै मजदुर ट्रेड युनियनका अध्यक्षको सहभागिता रहेको थियो । भेटपछि अध्यक्ष दाहालले यातायात क्षेत्रमा दीर्घकालीनरूपमा गर्नुपर्ने कामलाई नीति बनाएर गरिने तथा कोरोनाको सङ्क्रमबाट बन्द रहेका यातायातलाई सुरक्षितरूपमा खुलाउने बारेमा तत्काल पहल थाल्ने विश्वास दिलाउनु भएको महासङ्घका महासचिव सरोज सिटौलाले जानकारी दिनुभयो ।
आजै प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्रीहरुसँगसमेत भेट्ने कार्यक्रम रहेको छ ।