गोरखा: नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गोरखाबाट संसारले देख्ने गरी माओवादीले चुनाव जित्नुपर्ने बताएका छन्।
गोरखा काठमाडौं सम्पर्क समन्वय समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रचण्डले माओवादीबाट पीडित भएका कांग्रेस नेता,कार्यकर्ता र समर्थकलाई भेटाइ दिन आग्रह गरेको बताए ।
‘हिजो गोरखामा सबैभन्दा बढी द्धन्द्ध भएकै हो । मैले गोरखामा गएर भनेको छु । कांग्रेसका नेताहरुसँग कुरा गर्दै गर्दा दुई दिन हिँड्दा पनि माओवादीबाट सबैभन्दा पीडित भएका कांग्रेसका नेता कार्यकर्ता, समर्थकसँग मलाई भेटादिनुस भनेको छु । म उनीहरूसँग कुरा गर्न चाहन्छु’ प्रचण्डले भने, ‘हामीले नीतिगत रुपमा के माओवादी, के कांग्रेस, के नेपाली सेना, के सशस्त्र प्रहरी, के प्रहरी सबैलाई समान रुपले परिपुरण गर्नुपर्छ । उनका परिवारलाई राज्यले हेर्नुपर्छ भन्ने नीति बनाएका छौं ।’
करिव एक लाख ५ हजार मतदाता रहेको गोरखामा २ वटा प्रतिनिधि सभा र ४ वटा प्रदेश सभाका लागि यही मंसिर ४ गते चुनावी प्रतिस्पर्धा हुँदैछ । स्थानीय तहको निर्वाचनमा मतसंख्याको आधारमा करिव करिव उस्तै सांगठनिक मजबूदी देखाएका नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको गठबन्धनले गोरखाको निर्वाचनमा नयाँ हिसाव कितावको खाका देखाएको छ । हुन त अघिल्लो प्रतिनिधि सभाको निर्वाचनमा पनि गोरखामा गठबन्धन गरेरै दलहरु प्रतिस्पर्धामा थिए ।









