उम्मेदवार टुंग्याउन एमाले सचिवालय बैठक बस्दै

काठमाडौं: नेकपा (एमाले) को सचिवालय बैठक आज बिहीबार बस्दैछ ।

अपराह्न ३ बजे अध्यक्ष केपी ओलीनिवास बालकोटमा बस्ने बैठकमा संघ र प्रदेशका प्रत्यक्षतर्फका उम्मेदवार चयन र निर्वाचन घोषणापत्रमा केन्द्रित रहेर छलफल हुने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।

‘बिहीबार बोलाइएको सचिवालय बैठकमा प्रत्यक्षतर्फका उम्मेदवार र निर्वाचनमा प्रस्तुत गरिने पार्टीको घोषणापत्रमा केन्द्रित रहेर छलफल हुन्छ,’ उपमहासचिव ज्ञवालीले भने, ‘हामी दसैँअगावै उम्मेदवार र चुनावी घोषणापत्रको टुंगो लगाएर सार्वजनिक गर्छौँ ।’

सत्तारूढ गठबन्धनको क्षेत्र बाँडफाँड र त्यसबाट उत्पन्न हुन सक्ने असन्तुष्टिलाई समेत मध्यनजर गरेर उम्मेदवार टुंगो लगाउने रणनीतिमा एमाले छ । गठबन्धनभित्रको असन्तुष्टितिर नजर लगाउँदै एमालेले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र राप्रपासँगको तालमेलको अन्तिम टुंगो लगाइसकेको छैन ।

अध्यक्ष केपी शर्मा ओलीले निकटस्थ नेताहरूसँगसमेत परामर्श गरेर प्रतिनिधि सभातर्फका ८० प्रतिशतभन्दा बढी उम्मेदवार टुंग्याइसकेका छन् । ६० निर्वाचन क्षेत्रमा जिल्ला र प्रदेशबाटै सर्वसम्मत टुंगिएर उम्मेदवारको नाम आएको र थप ५० हाराहारीमा दुईजनाको मात्र दाबी रहेकाले संघतर्फको उम्मेदवार टुंगो लगाउन गठबन्धनको तुलनामा एमालेलाई सहज देखिएको छ ।

[sidebar name="button post"]