काठमाडौं : नवरात्रको पहिलो दिन आज नेपालीले घरघरमा घटस्थापनासहित जमरा राखेर नवदुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजा आराधना गर्दै छन्।
आज काठमाडौंको वसन्तपुरस्थित हनुमानढोका दरबार क्षेत्रमा रहेको दशैंघरमा विधिपूर्वक जमरा राखिएको छ।घटस्थापनाको दिन हनुमानढोकाका साथै देशभरका शक्तिपीठ तथा घरमा जमरा राखिन्छ। जमरा राखेपछि दुर्गा देवीको पूजा आराधना शुरू हुन्छ।

हनुमानढोकाको दशैंघरमा नवरात्रभर विधिपूर्वक पूजा आराधना गरिनुका साथै मंगल धुन पनि गाइन्छ। यो क्रम विजयादशमीका दिनसम्म जारी रहन्छ।

हिमालयको तपस्या र प्रार्थनाले शैलपुत्री देवी प्रसन्न भएर उनको पुत्रीका रुपमा उत्पन्न भएको पनि विभिन्न पुराणमा उल्लेख गरिएको छ। आज घटस्थापनासँगै काठमाडौँ उपत्यकालगायत देशभरका शक्तिपीठमा पूजा, आराधना एवं दर्शन गर्ने भक्तजनको भीड लाग्ने गर्छ।

प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने नेपालीको महान् पर्व बडादशैँ आज घर घरमा घटस्थापना गरेसँगै सुरु हुन्छ। यो पर्व आश्विन शुक्ल पूर्णिमासम्म १५ दिन धूमधामका साथ मनाइन्छ। बडा दशैँको पहिलो दिन आज घरका पूजा कोठा र दशैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ। पूजा कोठा वा दशैँ घरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ।












