आजका मुख्य समाचारमा
नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार योसँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ७५ हजार ६२५ पुगेको छ।
नेकपा एमालेको संसदीय दलको बैठकले संसदीय बोर्ड गठन भएको छ । वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले वहिष्कार गरेपनि बालुवाटारमा जारी दलको बैठकले बोर्ड गठन गर्ने निर्णय गरेको हो । बोर्डमा २७ जना रहनेछन् ।
नेकपा एमाले संसदीय दलको बैठक भर्खरै सकिएको छ । बैठकले संसदीय दलको बैठकमा नआउने सांसदहरुलाई विधान अनुसार स्पष्टिकरण सोधिने र कारबाहीको प्रक्रिया अगाडि बडाउने निर्णय गरेको छ ।
कोरोना भाइरसविरुद्धको खोप दोस्रो चरणमा १६ लाख ७३ हजार २२७ व्यक्तिले लगाएका छन् । दोस्रो चरणको पहिलो प्राथमिकतामा व्यक्तिमध्ये ७३ प्रतिशतले खोप लगाएका छन् ।
सत्ता साझेदारीको कसरतमा रहेको जनता समाजवादी पार्टी (जसपा)ले सरकार गठनमा कसलाई सघाउने भन्ने विषय अझै टुङ्गो लगाउन सकेको छैन ।
पटक पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको भन्दै यातायात व्यवसायीहरुले चैत तेस्रो हप्तासम्म यातायातको भाडा बढाउन सरकारसँग माग गरेका छन्।
तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् सार्वजनिक गर्नुभएको हो ।
भारतमा कोरोनाभाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि बृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ३६ हजार जना संक्रमित भएका छन् ।
ललितपुरमा आगलागीबाट आज एक वृद्धाको मृत्यु भएको छ । ललितपुर महानगरपालिका–१४ नख्खीपोटस्थित मगरटोल बस्ने ७६ वर्षीया दानदेवी खड्गीको घरमा बिहान आगलागी हुँदा जलेर मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
अफगानिस्तानको वार्दाक प्रान्तमा अफगान वायु सेनाको एक हेलिकप्टर दुर्घटना हुँदा नौं व्यक्तिको मृत्यु भएको रक्षा मन्त्रालयले बिहीबार पुष्टि गरेको छ । बुधवार राती वार्दाक प्रान्तको बिहसुद जिल्लाको सो दुर्घटना भएको थियो ।
ब्राजिलमा कोरोना भाइरसबाट एकै दिनमा ९० हजारभन्दा बढी संक्रमित भएका पाइएको छ । यस देशमा पहिलो पटक यतिधेरै नागरिक संक्रमित भएका पनि समाचारमा जनाइएको छ ।
मंगलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ ।
नेपाली कांग्रेसका पूर्वकेन्द्रीय सदस्य तथा विराटनगरको संस्थापक मेयर अशोक कोइरालाको निधन भएको छ । संविधानसभा सदस्यसमेत रहेका ७७ वर्षीय कोइरालाको बिहीबार बिहान करिब १ बजे मृत्यु भएको हो ।
जिल्ला अदालत उदयपुरले आफ्नै आठ वर्षीया नातिनीलाई बलात्कार गरेको कसुरमा ५६ वर्षीया हजुरबुबालाई आजीवन कारावासको सजाय फैसला गरेको छ ।