१५ फागुन, काठमाण्डौ। संयुक्त राष्ट्र संघको कमिटी फर डेभलपमेन्ट पोलिसीले नेपाललाई अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सिफारिस गरेको छ । नेपालसँगै सीडीपी लाओस् र बंगलादेशलाई पनि विकासशील राष्ट्रमा स्तरोन्नति गर्न सिफारिस गरेको छ ।
अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिको लागि कमिटीले पाँच वर्षको समयावधि दिने पनि निर्णय गरेको छ । यस अवधिमा नेपालले आवश्यक सबै मापदण्ड पूरा गर्नु पर्नेछ ।
यही फ्रेब्रुअरी २२ देखि २६ सम्म चलेको मूल्याङ्कनबाट सीडीपीले नेपाललाई विकासशिल राष्ट्रका लागि सिफारिस गरेको हो ।
अहिले स्तरोन्नतिका लागि सिफारिस भएका मुलुकले सन् २०२६ सम्म तोकिएका मापदण्ड पूरा गर्नु पर्ने सुविधासमेत दिइएको छ । प्रतिव्यक्ति आय, मानव विकास सूचकांक र आर्थिक जोखिम सूचकांक स्तरोन्नतिका मुख्य मापदण्ड हुन् । यसमध्ये नेपालले प्रतिव्यक्ति आय बाहेक दुई सूचकांकका तोकिएको मापदण्ड पार गरिसकेको छ ।









