समिता श्रेष्ठ
नारीको सुन्दरता वर्णन र तुलनायोग्य नै हुँदैन । माया, स्नेह, धैर्यता, लगनशीलता नारीका अनेक गुण छन् । नारी जीवन र अनेक गुणलाई एरिना ताम्राकारका चित्रमा स–भाव देख्न सकिन्छ । उहाँले नारी अर्थात् महिलाहरुका विभिन्न आयामलाई चित्रमा उतार्ने काम गर्नुहुन्छ ।
कलाकार ताम्राकारका यी चित्रमा चर्चित कलाकार लियो नार्दो दा भिन्चीले कोरेको मनोलिसा जस्तै अनेक भाव झल्किन्छ । तर नारी प्रवृत्तिमाथि आकृति कोर्नु उहाँको आफ्नै स्टाइल हो । त्यसमा पनि उहाँको आर्ट रिफ्लेक्स अफ लाइफ अर्थात् आममहिलाको व्यथा, पीडा, हाँसो, खुसी आदिबाट प्रभावित देखिन्छ । कला क्षेत्रमा उहाँले २८-२९ वर्ष बिताइसक्नुभएको छ ।
कलाकार ताम्राकारको परिचय
एरिना ताम्राकार ललितपुरको पाटन दरबार नजिकै मंगलबजार इखालोखु (ईच्छु गल्ली) मा भएको हो । उहाँ संयुक्त परिवारमा बसोबास गर्नुहुन्छ । उहाँको परिवार १२ जना सदस्य हुनुहुन्छ । उहाँले ललितकला क्याम्पसबाट पेन्टिङमा स्नातकसम्म अध्ययन गर्नुभयो ।
स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयबाट सेन्टर डिपार्टमेन्ट अफ फाइन आर्टमा गर्नुभयो । उहाँ घरमा सबैभन्दा कान्छी हुनुहुन्छ । त्यसकारण ताम्राकारले घरको कामहरु त्यति गर्नु परेन । त्यसैले उहाँले आफ्नो बाल्यकाल खेल्दै रमाइलो गर्दै बिताउनुभयो । उहाँको रुची आफू बुझ्ने भएपछि कला क्षेत्रमा हुन थाल्यो । उहाँले आफ्ना मनका भावनाहरु लाई अभिब्यक्त गर्ने माध्यम चित्रकलालाई बनाउनु भयो ।
त्यसै कारण उहाँले ललितकला क्याम्पसमा भर्ना भएर पेन्टिङ बिषय अध्ययन गर्नुभयो । अहिले भने ललितपुरको कुपन्डोलमा काष्ठमण्डप स्टुडियोमा उहाँको आफ्नै ‘काष्ठमण्डप आर्ट ग्रुप र ए आर्ट नेपाल’ व्यस्त हुनुहुन्छ । यो उहाँको आर्ट सम्बन्धि काम गर्ने स्थान हो ।
उहाँको बिहानदेखि बेलुकीसम्मको समय स्टुडियोमा नै बित्ने गर्छ । उहाँले स्टुडियोमा आर्ट गर्ने मात्रै नभएर इच्छुक ब्यक्तिहरुलाई आर्ट सिकाउने काम पनि गर्नुहुन्छ ।
काष्ठमण्डप आर्टिष्ट ग्रुप स्थापना
संघर्षबिना आर्टिष्ट निखार हुँदैन । यो आर्टको क्षेत्र अरु पेशा र व्यवसाय भन्दा निकै फरक हुन्छ । यसमा निकै लामो समयपछि मात्रै रिटन आउने गर्छ । यो क्षेत्रमा लाग्न निकै गहिराईमा पुगेर र निरन्तर काम गर्नुपर्ने भएकोले आर्टमा धेरै संघर्ष गर्नुपर्छ । त्यसै कारण पनि समूह बनाएर यो क्षेत्रमा प्रवेश गर्दा निकै संघर्ष गर्नुपरेको उहाँ बताउनुहुन्छ ।
काष्ठमण्डप आर्टिष्ट ग्रुप स्थापनाबारे एरिना ताम्राकार भन्नुहुन्छ ललितकला क्याम्पसमा अध्ययन गर्दै जाँदा झन्झनै यो आर्टको क्षेत्रमा रुची बढ्दै गयो । त्यसपछि आर्टमा नै लागेर केही गर्नुपर्छ भने मनमा लाग्यो । स्नातक तह सकेपछि वरिष्ठ कलाकार स्वः प्रशान्त श्रेष्ठसंग भयो ।
उहाँले नेपाली आर्टमा नै केही गर्नु पर्छ र नेपाली आर्टिष्ट भएर बाच्नु पर्छ भने कुरा गर्नु हुन्थ्यो । उहाँले आर्ट सम्बन्धि विभिन्न समूह प्रदर्शनी गर्नुहुन्थ्यो । म पनि उहाँले गर्नुभएको आर्ट प्रदर्शनीहरुमा भाग लिने गर्थे । पछि उहाँको विचार मन पराएर उहाँलाई अरु साथीहरूले पनि फलो गर्नुभयो ।
त्यो विचारलाई मन पराएरै मैले पनि फलो गरेर आर्टमा नै लागेर जीवन बिताउने साथीहरू ग्रुप निर्माण गर्यौ । त्यो ग्रुपको नाम नै काष्ठमण्डप आर्टिष्ट ग्रुप हो । यसरी यो आर्टिष्ट ग्रुपको निर्माण गरे पछि नै मेरो आर्ट यात्रा सुरु भयो ।’
उहाँले कला क्षेत्र बाहेक अरु कुनै पनि काम नगरेको बताउनुहुन्छ ।
आर्टमा नै दिन बितिरहेको हुन्छ । एरिना भनुहुन्छ,‘म आर्ट गर्ने मात्रै नभएर विभिन्न बर्गका इच्छुक ब्यक्तिहरुलाई आर्ट सिकाउने गर्छु ।’
नारी अर्थात् महिला केन्द्रित आर्ट
ताम्राकारको कलामा महिला र उनीहरुका जीवन भोगाई समेटिएको हुन्छ । जस्तैः आमाले भारीमाथि बच्चा बोकेको, जाँतो पिँधेको, खुला ठाउँमै नुहाइरहेको, आमा र बच्चाको भावनाको कुरालाई क्यानभासमा उतार्ने गर्नुहुन्छ । महिलाका संवेदना, आकृति तथा विम्ब क्यानभासमा उतार्नुहुन्छ ।

‘महिलालाई अझै पनि दोस्रो दर्जामा राखिन्छ । तर हामी महिला पनि माथि उठ्नका निम्ती जागरुक हुनुपर्छ, मैले कला क्षेत्रमा यहि संदेश दिन खोजेको छु उहाँ भन्नुहुन्छ,‘मेरो आर्टमा महिलाको जीवनका सम्पुर्ण पाटाहरु आउने गर्छन् ।’
अहिले समाजमा महिला हिंसाका घटना धेरै भैरहेको छ । अहिले भैरहेको महिला हिंसाको कुरामा जागरुक भएर अगाडि बढ्न आवश्यक छ । महिला माथी हुने हिंसा रोक्न आफै सचेत, आत्मबिश्वासी र निडर भएर लाग्नु पर्ने मुख्य सार आर्टमा झल्काउन खोजिएको हुन्छ ।
अहिले पनि उहाँ महिला शक्तिकै बिषयलाई लिएर काम गर्दै हुनुहुन्छ । ‘द थर्ड आई अर्थात् (तेस्रो आँखा) को माध्यमबाट उहाँले महिला शक्तिको बारेमा कलामा देखाउनुहुन्छ । उहाँ भन्नुहुन्छ,‘महिला सचेत भएर परिवेशलाई बुझेर काम गर्नुपर्छ ।’
आर्टिष्टमा हुनुपर्ने गुण
आर्ट गर्नको लागि लक्ष्य निर्धारण गरेर त्यसमा निरन्तर रुपमा लागिरहनुपर्छ । जस्तोसुकै परिस्थितिमा पनि आफ्नो कामलाई निरन्तरता दिईरहन सक्ने क्षमता हुनुपर्छ । कडा मेहनत र समर्पण भएर आर्टमा लाग्नुपर्छ । यो एउटा धैर्यताका साथ गर्नु पर्ने काम हो । यसको लागि धैर्यताको अति आवश्यक पर्छ ।
यो क्षेत्रमा लाग्न चाहने नयाँ पुस्ताको लागि चुनौती र अवसर धेरै नै रहेको छ । समय अनुसार अनुसन्धान गर्ने कुरा धेरै नै छ । सिक्न चाहेमा सिक्न सक्ने माध्यम पनि धेरै छ । तर यो क्षेत्रमा लाग्न चाहनेले यो क्षेत्रको बारेमा आवश्यक जानकारी लिएर आउनु पर्छ । यो क्षेत्रमा लागेर छिटो प्रतिफल पाउँदैन ।
यसको लागि निरन्तर मिहेनत, परिश्रम गर्दै धैर्यताको साथ अगाडि बढ्न सक्नुपर्छ । आफ्नो लक्ष्यमा पुग्नको लागि निरन्तरता दिन सक्नुपर्छ । ‘यो क्षेत्रमा अगाडि बढ्नको लागि मलाई प्रेरणा दिने प्रेरणाको स्रोतहरु त धेरै हुनुहुन्छ । त्यस मध्य पनि मुख्य प्रेरणाको स्रोत भने महिला नै हुनुहुन्छ ।

आफू महिला भएर पनि होला मैले आफ्नै आमालाई राम्रो संग बुझ्छु, मेरो दिदीबहिनीलाई राम्रो संग बुझ्छु । मेरो लागि बाबा र आमा दुबैले दुःख गर्नुभएको छ । तर मलाई आमाको दःुखले बढी छुने गर्दछ । त्यसै बाटोमा हिडँ्दै गर्नु भएको महिलाको दुःखले पनि मलाई छुन्छ ।
हाम्रो समाज, समुदाय र राष्ट्र एवं जुनसुकै स्थानमा बसोबास गर्ने उदाहरणीय महिला नै मेरो प्ररेणाको स्रोत हुनुहुन्छ । मेरो आर्ट आम महिलाका कथाव्यथा, पीडा, हाँसो, खुसी आदिबाट प्रभावित हुन्छ ।’
पार्ट अफ मोडन आर्ट
आर्टको विभिन्न विद्या हुन्छ । त्यसमा पनि आधुनिक कला अर्थात् मोडन आर्टमा उहाँ लाग्नुभएको छ । त्यसमा पनि समसामयीक बिषयबस्तुमा रहेर आर्ट गर्ने गर्नुहुन्छ । ‘हाम्रो समाज समुदायमा हुँदै गरेको समकालीन बिषयलाई नै मैले मेरो चित्रमा उतार्ने गर्छु । हाम्रो समाजमा नै हुने गरेको बिषयबस्तु जो महिलासंग सरोकार राख्ने गर्छ । त्यही बिषयबस्तु लाई लिएर मैले धेरै आर्टहरु गरेको छु ।
मैले गरेको आर्ट सिरिजहरुमा हाम्रो समाजकै महिलाहरुमा केन्द्रित भएर जीवनको यथार्थ, प्रतिबिम्ब, प्रकृति र महिला, महिला र बर्षा ,निश्चल स्पर्षहरु, मैले १८ वटा एकल प्रदर्शनी गरिसकेको छु । त्यस्तै विभिन्न किसिमका महिलालाई केन्द्रित गरेर आर्ट गरिसकेको छु ।’

आफुले गरेको सबै आर्टमा उतिकै भावनात्मक रुपमा डुबेर, मेहनत र लगनशील भएर लागेको हुन्छ । त्यसैले आफ्नो कामहरुलाई कुन राम्रो लाग्ने भनेर छुट्याउनु गाह्रो नै पर्छ । अनि आफ्ना सिर्जनाहरु सबै आफुलाई मन पर्दछ । तर त्यसमध्ये भावनात्मक रुपमा बढी छोएको सिरिज आमा र बच्चाहरु नै हो ।
यसमा आमा र बच्चालाई केन्द्रित गरेर धेरै चित्रहरु बनाएको थिए । त्यस्तै अम्रेला सिरिजः जसमा छाता नै छाताको चित्र बनाएर चित्र बनाएको थिए । त्यस्तै अहिले गरिरहेको सिरिज द थर्ड आई पनि एकदमै राम्रो लागेको छ ।
आर्ट नै जिवन
ताम्राकार भन्नुहुन्छ,‘मेरो लागि आर्ट मेरो जीवन नै हो । आर्ट बिना म केही गर्न सक्दिन जस्तो लाग्छ । आर्टबाट नै मेरो भावनाहरुलाई ब्यक्त गर्ने गर्छु । महिला शक्तिको बिषयलाई लिएर आर्ट गर्छु । मेरो आर्टहरुमा मैले धेरै नै प्रयोग गर्ने रंग भनेको रातो हो । रातो रंगको आफ्नै छुट्टै विशेषता पनि छ । म थोरै रंग प्रयोग गरेर फिलिङ्ग अर्थात भावनालाई प्राथमिकता दिएर काम गर्ने गर्छु ।
म हरेक समय नयाँ कामहरू गर्न रुचि राख्छु । धेरै कुरा गर्न बाँकी नै छ । टिम संग मिलेर काम अगाडि बढीरहेको छ । हाम्रो टिमले लकडाउनपछि पनि ‘कन्टेपोररी आर्ट अफ नेपाल’ एक्जिबेसन गरेका थियांै । आफ्नो कामलाई निरन्तर दिदै जाने हो ।
आर्टको लागि भनेर लकडाउन हुनु भन्दा एक महिना अगाडि अष्ट्रेलियामा गएको थिए । त्यस्तै अमेरिका, युरोप, बंगलादेश, भारत, श्रीलंका, कोरियालगायत १६ भन्दा बढी देशमा पुगिसकेको छु । विभिन्न आर्ट एक्जिबेसनहरुमा र प्रोग्राममा गैरहेको हुन्छु ।
अबका सपना
सपना त धेरै नै छ । नेपाल सरकारले पनि आर्टको लागि भनेर विभिन्न ठाउँमा म्युजियम बनाए हुन्थ्यो भने चाहना छ । सुरुवातदेखि हालसम्म यहि आर्टमा नै छु । यो क्षेत्र बाट आफ्नो परिचय स्थापित गर्दै सम्मान र विभिन्न देशमा गएर आर्ट प्रदर्शन गर्ने मौका पाएको छु ।
त्यस कारणले गर्दा आफ्नो काम देखि खुशी छु । अहिलेसम्मको आर्टको यात्रा लागि हेर्दा अन्य बिजनेस म्यान, व्यवसाय जस्तै गरि मनग्य कमाउन नसके पनि यो क्षेत्रमा लागेर जिवनयापन गर्न भने सकिन्छ । जीवन संघर्षको गाडी जस्तो लाग्छ ।
हामिले यो गाडीलाई सुरुवातमा बुझ्नु पर्छ, चलाउन सिक्नु पर्छ र राम्रोसँग चलाउन जान्नु पर्छ । राम्रो गाडी बनेर जीवन चलाउनु पर्छ । जुनसुकै पेशा र व्यवसायमा लागे पनि कामलाई प्राथमिकता राखेर गर्नुपर्छ ।’









