१५ माघ, काठमाडौं । प्रधानमन्त्री केपी ओलीका विश्वासपात्रका रुपमा रहेका नेता महेश बस्नेतले हिजो पत्रकारहरुलाई धम्क्याएको विषयलाई नेपाल प्रेस युनियनले आपत्तीजनक भनेको छ ।
युनियनद्वारा आज जारी प्रेस विज्ञप्तिमा केही सम्पादकहरुको नामै तोकेर बस्नेतले हिजो बुटवलमा धम्क्याउनु घोर आपत्तीजनक हो भनिएको छ । साइबर सेना गठन गरेर फरक मत राख्नेहरु विरुद्ध संगठित आक्रमण र दुस्प्रचार गर्दै आएका बस्नेतको पछिल्लो धम्की ओली समूहले स्वतन्त्र पत्रकारितालाई कसरी लिएको रहेछ भन्ने स्पष्ट भएकोपनि विज्ञप्तिमा उल्लेख छ ।
ओलीले स्वतन्त्र पत्रकारिताको मुख बन्द गर्न यस्ता धम्की दिनेहरुको जमात बनाएको भन्दै युनियनले लोकतन्त्र पक्ष र प्रतिगमनविरुद्ध सम्पूर्ण सञ्चारकर्मी एकतावद्ध भई उभिएको पनि प्रष्ट पारिएको छ । यसका साथै स्वतन्त्र पत्रकारिता गर्नेहरुलाई धम्क्याउने बस्नेतले तत्काल माफी माग्नुपर्ने युनियनले जनाएकोछ ।
यस्ता धम्कीपूर्ण अभिव्यक्तिको कडा शब्दमा निन्दा गर्दै सम्पूर्ण पत्रकारिता क्षेत्रसँग माफी माग्नुपर्छ – विज्ञप्तिमा भनिएको छ । साथै, सार्वजनिक रुपमा धम्क्याउने बस्नेत जस्ता अपराधीलाई प्रशासनले तत्कालै नियन्त्रणमा लिई कानूनी कारबाही अगाडि बढाउनुपर्ने माग पनि गरिएकोछ ।











