१५ माघ, काठमाडौं । अरबपति उद्योगी विनोद चौधरीको नेतृत्वमा नेपाली कांग्रेसले ‘गरीखाने अभियान’ सुरु गरेको छ । नेपालीको जीवनस्तर रुपान्तरण गर्ने गरी गरीखाने अभियानको बिहीबार वीरगञ्जमा आयोजित पत्रकार सम्मेलनमा घोषणा गरिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै उद्योगी चौधरीले कांग्रेसका प्रत्येक कार्यकर्ता, नेविसंघ, तरुण दल, राज्य सञ्चालनका विभिन्न पंक्तिमा रहेकाहरुलाई अभियानमा समेट्ने बताए । चौधरीले सरकारले विभिन्न किसिमका योजना घोषणा गरेको छ । पूँजीको कुनै अभाव छैन, विना धितो प्रमाणपत्रको आधारमा ऋण उपलब्ध छ भन्ने उद्घोष दिनदिनै सुनेका छौं । तर कतिले रोजगारी पाए त रु कति उद्यम खडा भए त रु नवप्रवर्तन उद्यमी कति खडा भए त रु भन्ने गम्भीर प्रश्न उभिएको छ पनि बताए ।
एक फरक प्रसङमा बोल्दै चौधरीले कुनै पनि राष्ट्र सम्पन्न हुने परिकल्पना गर्नका लागि सबैभन्दा पहिला समाजमा गरीखाने वर्गप्रतिको भावना सकारात्मक हुनुपर्ने बताएका छन् ।
गरीखाने अभियानको ७ वटै प्रदेशमा स्थायी संरचना बनाउने कांग्रेसले जनाएको छ । जस अन्तर्गत आज प्रदेश २ को वीरगञ्जमा पहिलो छलफल भएको हो ।











