१४ पुष, काठमाडौं । उखु बेचेको बक्यौता उठाउन आन्दोलनका लागि काठमाडौं आएका सर्लाही रामनगरका किसान नारायणभगत यादवको मृत्यु भएको छ । आन्दोलनरहत उखु किसानहरुको संरक्षण राकेश मिश्रका अनुसार मंगलबार बिहान उपचारका क्रममा उनको मृत्यु भएको हो ।
उनले सर्लाहीको अन्नपूर्ण सुगर मिलबाट १५ लाख रुपैयाँ भन्दा बढी बक्यौता लिन बाँकी थियो । यसपटक पैसा हातमा परेपछि मात्र आन्दोलन फिर्ता गर्ने मनसाय लिएर किसानहरु काठमाडौं केन्द्रित आन्दोलनका लागि आएका थिए । तर, २१ दिन भित्र सबै रकम भुक्तानी गर्ने सम्झातौ गरी किसानहरुले आन्दोलन स्थगित गरेको सुनेपनि यादव चिन्तित थिए । उनले बेलुकातिर आफन्त र किसान साथीभाईसँग आन्दोलन स्थगित गरेर पैसा पाउने आश कम रहेको बताएका थिए ।
यदपी, आन्दोलनको बीचमा उनले २ लाख रुपैयाँ आफ्नो खातामा आएको बताएका थिए । मिश्रका अनुसार आइतबार दिउँसो माइतिघरस्थित आन्दोलन स्थलमै उनले दुई लाख रुपैयाँ खातामा आएको भन्दै खुसी व्यक्त गरेका थिए ।
यादवको मूल पेशा नै उखु खेती हो । उनले ४–५ बर्षदेखी मिललाई उखु दिएपनि त्यस बापतको पैसा नपाउँदा मानसिक चिन्तामा थिए । गाउँघरमा चर्को ब्याजमा उनले उखु खेती लगाउन र घर व्यवहार चलाउन ऋण लिएका थिए । यसपटक काठमाडौं केन्द्रित आन्दोलनबाट पैसा आएपछि ऋण तिर्ने उनको योजना थियो ।









