कबिता चापागाई
काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिका वडा ७ मा सडक र ढल मुख्य योजनामा परेका छन् । अहिले कोरोना महामारीपछि विकास निर्माणका काम भने ठप्प छन् । यस्तो अवस्थामा वडा नम्बर ७ मा विकास निर्माणका काम कसरी अगाडी बढाउने योजना छ त ? वडाअध्यक्ष जिवन थापासँग साथी कबिता चापागाईले गर्नुभएको कुराकानीको सार ।
कोरोना संक्रमण बढ्दो क्रममा छ, वडामा रोग फैलन नदिन कार्ययोजना के छ ?
अहिले विकास निर्माणका काम भन्दा पनि नागरिकलाई कोरोना महामारीबाट सुरक्षित राख्नु नै पहिलो प्राथमिकता हो । त्यसैअनुसार नगरपालिकाले बनाएको कार्ययोजनालाई वडाले कार्यान्वयन गर्दै आएको छ । महामारी रोकथाम, व्यवस्थापन र नियन्त्रणका लागि नै प्रयास गरिरहेका छौ ।
कोरोनाको असर अझै देखिन सक्छ, कसरी अगाडी बढ्नुहुन्छ ?
कोभिड १९ ले गर्दा विकास निमार्णका कार्य अलि तल झरेको छ । यस वर्ष जुन लक्ष्य लिएर कार्य गर्ने भनि अगाडि बढेका थियौ, कोरोनाले गर्दा सम्झौता गर्न पनि नसकेको अवस्था छ । अहिलेको कोरोना भाईरसको कारणले नभएका कामहरु पनि अब आउने वर्षको जेठ मसान्त भित्र जुनसुकै अवस्थामा पनि सम्पन्न गर्ने योजना भएको छ ।
निर्माण कार्यको लागि सवारी साधनहरुलाई नरोक्ने हिसाबले पास दिएर कामदारहरुको पीसीआर परिक्षण गरेर अघि बढ्ने निर्णय भइसकेको छ । कोरोना भाईरसले गर्दा जुन असर परिरहेको छ, यसअघि नगरपालिकाले सोहि अनुसार बुझेर सबै भन्दा विपन्न खान लगाउन गाह्रो परेका मजदुरहरुलाई खाना खान दिने कार्यक्रम सञ्चालन गरेको थियो ।
जहाँ नागरिकबाटै १३ लाख ९४ हजार उपलब्ध गराएकोमा उत्त रकमलाई कुपनको माध्यमबाट सञ्चालन गरिएको थियो ।
महामारी रोकथाम र नियन्त्रणको काम त छदैछ, अरु विकास निर्माणका काम नी ?
हामी जनप्रतिनिधि चुनिएको तीन वर्ष भैसकेको छ । जनप्रतिनिधि भएपछि वडामा विकास निर्माणका काम धमाधम भैरहेका छन् । गएको डिसेम्बरमा चीनमा देखा परेको कोरोना भाइरस महामारीकै रुपमा नेपालमा समेत भित्रिएको छ । त्यसपछि डर र जोखिमले विकास निर्माणका काम प्रभावित भएका छन् । आगामी दिनमा यी कामलाई कसरी अगाडी बढाउने भन्ने महत्वपूर्ण छ ।
वडामा विकास निर्माणका मुख्य प्राथमिकता के छन् ?
चालु आर्थिक वर्षमा मुख्यतः सडक र ढल नै प्राथमिकतामा छन् । स्थानीय नागरिकका आवश्यकतालाई ध्यानमा राखेर विकास निर्माण, शिक्षा, स्वास्थ्यका काम अगाडी बढाएका छौ । अघिल्लो आर्थिक वर्षमा रोकिएका कामहरु पनि अब सुरु गर्नुपर्नेछ । गतवर्ष लकडाउनका कारण रोकिएका काम लगभग अन्त्यतिर पुग्न लागेका छन् ।
थापा ज्यू, जनप्रतिनिधि भएको ३ वर्षमा भएका मुख्य उपलब्धिहरु के हुन् त ?
कागेश्वरी नगरपालिकाको नगरसभाले पास गरेका विकास निर्माणका काम अनुसार वडाका मुख्य प्राथमिकता उपलब्ध बजेट अनुसार काम भैरहेका छन् । प्रमुख समस्याका रुपमा रहेको बाटो कालोपत्र गर्नुपर्ने, ढल व्यवस्थापन गर्नुपर्ने, खानेपानीको व्यवस्थापन लगाएतका काम निरन्तर भैरहेका छन् ।
बस्ति विकासका क्रमले गर्दा प्रत्येक मानिसले थोरै जमिन किनेर घर बनाएको हुनाले पानी र ढलको व्यवस्थापन, हरेक घरमा खानेपानी, घरघरमा पुग्ने बाटो बनाउनुपर्ने अवस्था विद्यमान छ । यो निरन्तरकै काम हो । खानेपानीको प्रवन्ध सकेजति गरेका छौ । थप व्यवस्थापन गर्नुपर्नेछ ।
अरु के कस्ता काम भैरहेका छन् ?
गतसाल पुरा नभएका विकास निर्माणका कार्यहरु अहिले झण्डै ९५ प्रतिशत सकिएको छ । नगरपालिकाको आयोजनामा ३ वटा बाटोका टेन्डर परेकोमा कालोपत्रे भईसकेका छन् । खानेपानीको समस्या हल गर्नका लागि काँडाघारी खानेपानी आयोजना सुरु गरिएको छ । यो आयोजनाले गोठाटार ७ र ८ का झण्डै ५५ सय घर धुरीलाई खानेपानी वितरण गर्ने योजना छ ।
काँडाघारी खानेपानी आयोजनाको साढे ४ लाख लिटर पानी अट्ने २ वटा ट्याङकीहरु निर्माण कार्य सम्पन्न भईसकेको छ । त्यस अन्तर्गत ७ वडालाई खानेपानी वितरण गर्नको लागि एउटा भैमाल खानेपानी र काँडाघारी खानेपानी आयोजना सुरु गरिसकेको छ र अहिले भैमाल खानेपानी तत्काल सुरु गर्नका लागि सह लगानीमा जाने भनेर डिपिआर पनि सुरु भैसकेको छ ।
विकास निर्माणका काममा जनसहयोग र भूमिका के छ ?
बस्ति विकासकै क्रममा छन् । यसले गर्दा पारेको असरमा वडामा टोल सुधार समिति र नगरपालिकाले आधा आधा सहकार्यमा काम गरेका छन् । त्यसैगरी विष्ट गाउँ तल्लो बस्ति, मनकामना टोल सुधार समितिले एकै वर्ष ५० लाख रुपैयाँमा ढल निकासको लागि भनेर काम गरेको छ । त्यो पैसा जनसहयोग, वडा र नगरपालिकाको सहकार्यमा भएको हो ।
गत साल नगरपालिकाबाट विनियोजित भएको रकम १ करोड ८५ लाखमा ८० प्रतिशत बजेटबाट बाटो, खानेपानी र ढलमा लगाएको छ । अहिले नगरपालिकाबाट १ करोड १८ लाख बजेट विनियोजित गरेकोमा ७० प्रतिशत विकास कार्यमा लगानी गरिएको छ । अरु कार्यालयमा १० प्रतिशत, स्वास्थ्यमा ५ प्रतिशत र कृषिमा २० प्रतिशत लगानी गर्ने भनेर अगाडि बढेका छन ।
अति महत्वपूर्ण क्षेत्र स्वास्थ्यका के कस्ता काम हुँदै आएका छन् ?
वडामा गर्भवती महिला र बच्चाका लागि खोप लगाउने काम निरन्तर सञ्चालन भएका छन् । नेपाल सरकारको निति अनुसा एउटा वडामा एउटा अस्पताल हुनुपर्छ भन्ने हिसाबले बाबा चोकमा भवन निर्माण गरी सुरु समेत भएको छ । यस वडामा करिब २० देखि २२ वटा मेडिकल भएको हुनाले स्वास्थ्य सम्बन्धि समस्या त्यति देखिएको छैन ।
वडामा खेलकुदको विकासको लागि भएका प्रयास खास देखिएन ?
तपाईं भनेजस्तो वडाबाटै खास प्रयास भएको जस्तो नदेखिन सक्छ । तर कामै देखिएन भन्दा पनि यस वडाले युवाहरुको लागि भनेर खेलकुद सम्बन्धि पनि विशेष चासो देखाएको छ । जहाँ प्रदेशबाट करिब डेढ करोडको व्याडमिन्टन कोड स्थापना गरीसकेको छ । नगरपालिकाले फुटबलको लागि गत साल ३ लाख रकम विनियोजित गरेको थियो र अहिले पनि डेढ लाख रुपैयाँ छुट्याएको छ ।
नागरिकका अरु माग र आवश्यकताबारे तपाईं के भन्नुहुन्छ ?
स्थानिय बासिन्दाहरुले वडामा ओपन स्पेस अर्थात् खुला ठाउँको पनि माग गर्नुभएको छ । त्यसका लागि एक वडा एउटा पार्कको पनि व्यवस्था गर्ने र किरिया घरको पनि उचित व्यवस्थापन मिलाउँने योजना छ । महिलाहरुले विभिन्न कार्यक्रम सञ्चालन गर्नको लागि व्यवस्थित ठाउँको माग गरेको हुनाले त्यस सम्बन्धि पनि कुरा भइसकेको छ । र बाँकि बसेका कामहरु जुनसुकै अवस्थामा पनि अब छिटो भन्दा छिटो सिध्याउने निर्णय भएको छ ।
अन्त्यमा, वडाले गरेका परोपकारी कामहरु के छन् ?
कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर ७ ले गत वर्ष १२० जना जेष्ठ नागरिकहरुलाई धार्मिक स्थलहरु जसमा मुक्तिनाथ, पाथिभरा, जनकपुरधाम लगाएतका ठाउँको भ्रमण गराएको थियो । तर यस वर्ष कोरोनाको महामारीले गर्दा योजना बनाइएको छैन । यस वडाले एकल महिलाको लागि पनि एकल महिला सम्मान जस्ता विभिन्न क्रार्यक्रमहरु ल्याईरहेको छ ।








