कृष्ण वाग्ले
भदौ ४ । काठमाण्डौको कागेश्वरी मनोहरा नगरपालिकाले वडा नम्बर ६ मा नगर अस्पताल सञ्चालन गरेको छ । मुलपानी नगर अस्पतालमा कोरोना परीक्षण, आइसोलेसन वार्ड र स्वास्थ्य मापदण्ड अपनाउँदै अन्य अत्यावश्यक स्वास्थ्य सेवालाई पनि निरन्तरता दिएको छ । अस्पतालको सेवा सुविधाबारे केन्द्रित रहेर मुलपानी नगर अस्पतालमा कार्यरत डाक्टर बिप्लब अधिकारी कागेश्वरी खबरका सहकर्मी कृष्ण वाग्लेले कुराकानी गर्नुभएको छ ।
नगर अस्पतालले नागरीकलाई दिने सेवा के के हो ?
नगर अस्पतालमा अहिले हप्ताको दुई दिन, सोमबार र शुक्रबार कोरोना परीक्षण गर्ने गरिएको छ । अहिलेको मुख्य आवश्यकता पनि यहि हो । आइसोलेसन वार्ड तथा क्वरेन्टीन पनि छ । त्यसबाहेक अन्य स्वास्थ्य सुबिधा जस्तै खोप र गर्भवति सेवालाई पनि निरन्तरता दिइएको छ ।
नगर अस्पतालमा हाल सम्म कोरोना परीक्षणको क्रममा कति संक्रमित फेला परेका छन् ?
कोरोना परीक्षणको क्रममा आजसम्म १३ जना संक्रमित भेटिएका छन् । आइसोलेसन वार्डमा ७ जना बिरामी राखिएको छ । श्रावण २९ गते बिहिबार वडा नम्बर ९ का एक जनालाई राखेर आइसोलेसन सुरु गरीएको हो । तर पनि हामीले अस्पताल सिल गरेका छैनौँ । कडा स्वास्थ्य मापदण्ड अपनाउँदै अत्यावश्यक स्वास्थ्य सेवालाइ निरन्तरता दिएका छौँ ।
कोभिड १९ अर्थात् कोरोना भाइरसको जोखिम कस्ता व्यक्तिलाई बढि हुन्छ ?
दिर्घरोगीलाई कोभिडको मुख्य जोखिम छ । मधुमेह भएका, धेरै मादक पदार्थ खाने, एचआईभी संक्रमित, जेष्ठ नागरिक तथा बालबालिका बढी जोखिममा रहेका छन् । गर्भवती र सुत्केरी सहित अरुलाई पनि यसको संक्रमण जोखिम छ । सबै सजग हुनु उत्तिकै आवश्यक छ । समग्रमा भन्दा रोग प्रतिरक्षा शक्ति कमजोर भएकाहरुलाई कोभिड १९ को जोखिम बढि हुन्छ ।
नगर अस्पतालले कोभिड १९ को महामारीको समयमा जन चेतनाको काम कसरी गरीरहेको छ ?
नगर अस्पतालले महिला स्वंयसेविका परिचालन गरेको छ । पालीका भित्र कसैलाई स्वास्थ्य समस्या छ कि भनेर बुझ्ने र अब के गर्ने र कहाँ जाने भन्ने विषयमा नागरीकलाई चेतना पु¥याउने काम भैरहेको छ । स्वास्थ्य मापदण्ड अपनाउँदै महिला स्वंयसेविकाले यो काममा सक्रिय रुपमा निगरानी गरिरहनुभएको छ ।
महिला स्वंयसेविकाले कसरी काम गर्नुहुन्छ ?
पालिकाको सामुदायिक स्तर अनि घर घरसम्म पुगेर काम गर्न सक्ने अङ्ग भनेकै महिला स्वंयसेविका हुन् । उहाँहरुलाई नगर अस्पतालले हात धुने प्रविधी र स्वच्छताको अभिमुखीकरण गराएर समुदायमा परिचालन गरेको हो । कोरोना छ भन्दैमा संसार रोकिएको होइन । खोप लगाउन र अन्य प्राथमिक स्वास्थ्य उपचार पनि अत्यावश्यक छ । त्यसैले कोभिड १९ को महामारीको समयमा पनि महिला स्वंयसेविकाले बिना झन्झट काम गरिरहनुभएको छ ।
महामारीको यो बेला हेलचेक्राई, भनौ न लापरवाही गर्दा के कस्तो समस्या हुन्छ ?
केन्द्रिय अस्पताल सबै कोभिड संक्रमितले भरिएको अवस्था भनिएको छ । त्यसैले नगर अस्पतालमा आइसोलेसन वार्डको सुरु गर्नुपर्यो । त्यहि आइसोलेसन वार्ड पनि भरीन लागे । महामारीको समयमा लापरवाहि गर्ने त कुरै आउँदैन । आफै व्यक्ति व्यक्ति सचेत बन्नुपर्ने अवस्था छ । जोखिम बढ्दो छ ।
सरकारले संक्रमण बढ्न नदिन निषेधाज्ञा समेत गरेको छ । यो बेला पनि नागरीक र समुदायको हकमा लापरवाहि गर्दा ठुलै जोखिम हुन्छ । एकजनाले लापरवाहि गर्दा उसको परिवार पनि तानिन्छन् । यदि बिरामी गम्भीर भयो भने नेपाल सरकारसंग उपचार गर्ने ठाउँ नै छैन । कार्यालयको हकमा २०,२५ जनाको टिममा काम गर्दा एक जनाकोे लापरवाहिले पुरै टिम अनि उनीहरुको परिवार गरी ठुलै संख्या तानिने हुँदा झन् ठुलो जोखिम हुन्छ ।
त्यसो हो भने कोभिड १९ बाट बच्ने सुरक्षाका उपायहरू बताईदिनुस् न ।
कोभिड १९ का संक्रमितलाई हाम्रा अस्पतालहरुले दिने भनेको पहिलो स्तरको हेरचाह मात्र हो । त्यसैले लापरवाहि नगर्ने । घरमै बस्ने । अनावश्यक बाहिर ननिस्कने । अत्यावश्यक निस्कनै परे सावधानी अपनाउने । स्वच्छता, भौतिक दूरी, स्यानिटाइजर र मास्कको प्रयाग गर्ने ।
नगर अस्पतालले जोखिम वर्गका गर्भवती तथा सुत्केरी सेवालाइ कसरी निरन्तरता दिएको छ ?
क्वरेन्टिनको सेवा दिइएकोले हामीले नगर अस्पतालमा अत्यावश्यक बाहेक नआइदिनु होला भनेर भन्ने गरेका छौँ । तर गर्भवती र सुत्केरी सेवा अत्यावश्यक सेवा अन्तरगत पर्ने हुनाले हामीले यो सेवालाई निरन्तरता दिनैपर्ने हुन्छ । थापाथली सहित अरु टाढाका अस्पताल जाने अवस्था नरहेकोले नगर अस्पतालले गर्भवती तथा सुत्केरी सेवालाई सुरक्षित ढङ्गबाट निरन्तरता दिएको छ ।








