Ad #144479

१० पुष, टोकियो । जापानका प्रधानमन्त्री योशिहिडे सुगाले जापानमा संकटकाल लगाउन आवश्यक नभएको बताउनुभएको छ । कोरोना भाइरसको महामारी फैलिन रोक्न जापानमा संकटकाल लगाउने वा नलगाउने भन्ने चर्चा चलिरहेका समय प्रधानमन्त्री सुगाले शुक्रबार देशव्यापी संकटकालको आवश्यकता नभएको बताउनुभएको हो ।

राजधानी टोकियोलगायतका सहरहरूमा कोरोनाभाइरसको महामारी बढीरहेका बेला उहाँले यस्तो बताउनुलाई महत्वका साथ लिइएको छ ।  बर्ष सन् २०२० को अन्तिम पत्रकार सम्मेलनमा उहाँले कोरोना महामारी नियन्त्रणसम्बन्धी विज्ञहरूको उच्चस्तरीय टोलीले आफुलाई अव संकटकालको आवश्यकता नरहेको बताएको जानकारी दिनुभयो । उनीहरुको सुझाबकै कारणले अहिले आफु संकटकाल घोषणा गर्ने तयारीमा नरहेको पनि प्रधानमन्त्री सुगाले स्पष्ट पार्नुभयो ।

उहाँले क्रिसमस र नयाँ बर्ष मनाउने क्रममा जापानमा रहेकाहरुले शान्तिपूर्वक र सतर्कता पूर्वक मनाउने विश्वास पनि व्यक्त गर्नुभयो । घर भित्र पारिवारिक जमघट बाहेक अन्य भिडभाड उनीहरुले नगर्ने अपेक्षा पनि प्रधानमन्त्री सुगाले व्यक्त गर्नुभएको थियो ।

“कृपया भेटघाट र भिडभाडलाई नियन्त्रण गर्नुहोला, त्यस्तोमा सकेसम्म संलग्न नहुनु होला, त्यति गर्नासाथ कोरोनभाइरसको महामारी धेरै कम हुन्छ,” उहाँले भन्नुभयो ।  प्रतिवन्धात्मक व्यवस्था र आधारभूत स्वास्थ्य मापदण्ड पालना गर्दै निश्चित अवधिका लागि मात्रै व्यापारिक प्रतिष्ठानहरु खोल्न अनुमति दिइएको छ ।

राजधानी टोकियोमा मात्रै दैनिक नौ सयको हाराहारीमा नयाँ सङ्क्रमित थपिने गरेका छन् । शुक्रबार अहिलेसम्मकै दोस्रो धेरै सङ्क्रमित देखिएका छन् ।  जापानका कोरोना भाइरसबाट अहिलेसम्म दुई लाख १४ हजार ५१४ जना सङ्क्रमित भएका छन् । ती मध्ये तीन हजार ७९२ जना पछिल्लो २४ घण्टामा थपिएका हुन् ।