Ad #144479

७ पुष, एजेन्सी । अमेरिकाका भावी राष्ट्रपति जो बाइडेनले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्नाले उत्पादन गरेको खोप बाइडेनले अमेरिका ल्याएकै दिन सोमबार लगाएका हुन् । बाइडेनले खोप लगाएको टेलिभिजनमार्फत प्रत्यक्ष प्रसारण गरिएको थियो ।

खोप लगाउनु सुरक्षित छ भन्ने सन्देश दिन आफूले सार्वजनिक रुपमा खोप लगाएको बाइडेनले बताएका छन् । यसअघि उपराष्ट्रपति माइक पेन्स र तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले खोप लगाएका थिए ।

अमेरिकामा यसअघि फाइजरको खोप लगाउन थालिएको थियो । कोरोना भाइरसबाट मानवीय क्षति र प्रभावितको दृष्टिकोणले अमेरिका सबैभन्दा अगाडि रहेको छ ।

देशमा खोप अभियान सुरु गरेकामा राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई धन्यवाद दिनु पर्ने पनि बाइडेनले बताए । बाइडेनकी श्रीमती डा. जिल बाइडेनले पनि खोपको पहिलो डोज लिएकी छन् ।

उपराष्ट्रपतिमा निर्वाचित कमला ह्यारिस र उनका पति डग एमहोफले आउँदो हप्ता खोपको पहिलो डोज लिने तयारी छ । बाइडेनको टिमले सत्ता सम्हालेको पहिलो १०० दिनमा १० करोड अमेरिकीलाई खोप लगाउने योजना बनाएको छ ।

कोरोना भाइरसको महामारीका कारण सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा कुल संक्रमितको संख्या एक करोड ८० लाख भन्दा बढि पुगेको छ । यस्तै अहिलेसम्म तीन लाख १९ हजार अमेरिकीको कोभिड–१९ का कारण ज्यान गएको छ ।