Ad #144479

२६ मंसिर, एजेन्सी । अमेरिकी विज्ञहरूद्वारा फाइजरको खोपलाई स्वीकृति दिन सिफारिस गरिएको छ । अमेरिकी खाद्य तथा औषधि नियामक एफडिएलाई सुझाव दिने चिकित्साविज्ञहरूले फाइजर-बायोएनटेकको कोरोना भाइरस खोपलाई आपत्कालिन रूपमा प्रयोग गर्न सकिने गरी समर्थन जनाएका हुन् ।

सो खोपको गुणदोष केलाउन विज्ञहरूको २३ समिती सदस्य रहेकाे उक्त दलले बैठक गरेपछि त्यस्तो निर्णय आएको हो। फाइजरको खोप सर्वसाधारणका लागि लगाउन यूके, क्यानाडा, बहराइन र साउदी अरबले स्वीकृति दिइसकेका छन्। खोपबारे विज्ञहरूको सिफारिस अमेरिकामा एकैदिन तीन हजार बढिले कोरोना भाइरस जोडिएका घटनामा ज्यान गुमाएको भोलिपल्ट आएको हो।

एकैदिन मृत्युको त्यस्तो सङ्ख्या विश्वमै अहिलेसम्मको उच्च हो। सङ्घीय सरकारको खोप वितरण कार्यक्रम अपरेसन र्‍याप स्पीडले खोप स्वीकृत भएको २४ घण्टामै खोप वितरण सुरु हुने जनाएको छ।

फाइजरले पहिलो चरणमा डिसेम्बर अन्त्यसम्ममा अमेरिकाका लागि ६४ लाख डोज तयार पार्ने योजना बनाएको छ। तर उसको खोप पूर्ण हुन दुईवटा डोज आवश्यक पर्ने हुँदा त्यो ३३ करोड जनसङ्ख्या भएको अमेरिकाका झण्डै ३० लाख जनसङ्ख्याका लागि मात्र पुग्नेछ।

अमेरिकाका सङ्घीय अधिकारीहरूका अनुसार एफडीएले स्वीकृति दिएसँगै त्यो सुरुमा देशका २ करोड १० लाख स्वास्थ्यकर्मी र लामो अवधिका लागि स्याहारगृहमा बसिरहेका तीस लाख जेष्ठ नागरिकहरूलाई दिइने अपेक्षा गरिएको छ।

दोस्रो चरणमा देशका झण्डै आठ करोड ७० लाख अत्यावश्यक सेवामा काम गर्नेहरूलाई खोप दिने बताइएको छ। तर कुन उद्योगहरूलाई प्राथमिकता दिने भन्ने निर्णय भने राज्यहरूले गर्नुपर्नेछ।

बिबिसीका अनुसार उच्च जोखिममा नरहेका समूहहरूका लागि कोरोनाभा इरसको खोप सन् २०२१ को बसन्त याममा लगाइने अपेक्षा गरिएको छ।अमेरिकामा मोडर्ना र न्याश्नल इन्स्चिच्युट अफ हेल्थले तयार पारेको अर्को खोपले समेत स्वीकृति खोजिरहेको छ।