Ad #144479

२१ मंसिर, एजेन्सी । दक्षिणपश्चिम चीनस्थित एउटा कोइलाखानीमा विषालु ग्यास चुहिँदा १८ जनाको मृत्यु भएको छ । सीसीटीभीका अनुसार शुक्रवार चुङ्चिङस्थित उक्त खानीमा कार्बन मनक्साइड चुहिएपछि खानीमा काम गर्ने पाँच जना अझै हराइरहेका छन् भने एक जनालाई जीवितै उद्धार गरिएको छ।

चीनको दक्षिण पश्चिमी प्रान्तको एक कोइला खानीमा कार्बन मनोअक्साइड ग्यास चुहावट हुँदा कम्तीमा १८ श्रमिकको मृत्यु भएको छ । चिनियाँ समाचार संस्थाहरूका अनुसार चोङछिङ शहरको डायोसुइडोङस्थित कोइला खानीमा शुक्रबार भएको उक्त घटनामा खानीमा काम गरिरहेका कम्तीमा २४ जना फसेका थिए ।

शनिबारसम्म एक व्यक्तिलाई जीवितै उद्धार गरिएको छ भने १८ जनाको मृत शरीर खानीबाहिर ल्याइएको छ । करिब दुई महिनादेखि बन्द अवस्थामा रहेको उक्त खानी केही दिन पहिले मात्र सञ्चालनमा आएको थियो । चिनिया समाचार संस्था सिन्ह्वाका अनुसार उक्त खानीमा सन् २०१३ मा तीन व्यक्तिको मृत्यु भएपनि खानीलाई सुरक्षित मानिँदै आएको थियो । घटनाबारे अनुसन्धानका लागि सरकारले अनुसन्धान टोली गठन गरिसकेको छ ।

भूमिगत खानीभित्र पहिरो जाँदा र ग्यास चुहावटका कारण मृत्यु हुनुलाई खानीभित्र अपनाउनुपर्ने आवश्यक सुरक्षा सावधानी नअपनाउनु नै प्रमुख कारण मानिन्छ । चीनमा खानीभित्र यस प्रकारका दुःखद दुर्घटना हुनुलाई खानी सञ्चालन गर्ने उद्योग तथा कम्पनीको लापर्बाहीका रूपमा लिने गरिन्छ । चोङछिङको एक अर्को खानीमा सेप्टेम्बरमा आगलागी हुँदा कम्तीमा १६ व्यक्तिको मृत्यु भएको थियो ।