Ad #144479

भारतीय पत्रकार अर्नब गोस्वामीलाई मुम्बई प्रहरीले बुधबार पक्राउ गरेपछि १४ दिनका लागि न्यायिक हिरासतमा पठाइएको छ। भारतीय टेलिभिजन रिपब्लिकका प्रधान सम्पादक अर्नबलाई सन् २०१८ मा भएको आत्महत्या घटनामा दुरुत्साहन गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेको हो।

सोही दिनको अबेर राति उनलाई हिरासतमा पठाइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। पत्रकार अर्नबका वकिल अबाद पोन्डाले धरौटीमा उनको रिहाइका लागि अदालतमा निवेदन दिएका छन्। जसको सुनुवाइ आज हुने अनुमान गरिएको छ।

सन् २०१८ मा इन्टेरियर डिजाइनर अन्वय नाइक र उनकी आमा कुमुद नाइकले आत्महत्या गरेका थिए। रिपब्लिक टेलिभिजनले दिनुपर्ने पैसा नदिएका कारण आफ्ना बुबा र हजुरआमाले आत्महत्या गरेको भन्दै डिजाइनरकी छोरीले आरोप लगाएकी छन्। सोही मुद्दा अनुसन्धानका लागि प्रहरीले रिपब्लिक टेलिभिजनका प्रधान सम्पादक अर्नबलाई पक्राउ गरेको हो।