अमेरिकामा राष्ट्रपति चुनावका लागी चार करोड मतदाताले मत खसाले

अमेरिकामा राष्ट्रपति चुनावका लागी अहिलेसम्म चार करोड भन्दा बढी मतदाताले आफ्नो मत खसाली सकेको निर्वाचन आयोगलाई उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

अमेरिकामा आउँदो नोभेम्बर ३ मा राष्ट्रपतिसहित आम चुनाव हुँदैछ । राष्ट्रपति चुनावमा हालका रिपब्लिकन राष्ट्रपति डोनाल्ड ट्रम्पलाई डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनले चुनौति दिएका छन् । पछिल्ला मत सर्वेक्षणहरुमा पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन अघि देखिएका छन् । तर केही महत्वपूर्ण राज्यहरुमा भने उनको अग्रता साँघुरो छ ।

चुनावका लागि दुई हप्ता कम समय रहेका बेला ४७ राज्य र डिसीबाट प्राप्त भएको तथ्यांक अनुसार हुलाक वा अग्रिम मतदान स्थलमा गएर भोट हाल्नेको संख्या विगतको भन्दा धेरै पुगिसकेको देखिएको छ । सन् २०१६ को चुनावमा १३ करोड ६० लाख मत खसेको थियो । अहिलेसम्म खसेको मत त्यसको झण्डै ३० प्रतिशत हो ।

ट्रम्पले लगातार महत्वपूर्ण राज्यहरुमा भिडभाड युक्त चुनावी सभा गरिरहेका छन् । तुलनात्मक रुपमा अति साना र कोरोना भाइरसको संक्रमण फैलिन नदिनका लागि सुरक्षात्मक चुनावी कार्यक्रम गर्दै आएका बाइडेन भने गएको सोमबारदेखि डेलवरस्थित घरमा छन् ।

उनले नेपाली समय अनुसार शुक्रबार बिहान हुने ट्रम्पसँगको दोस्रो तथा अन्तिम टेलिभिजन बहसको तयारी गरिरहेका छन् । बाइडेनका लागि चुनावी अभियानमा पूर्व राष्ट्रपति बाराक ओबामा सामेल हुन थालेका छन् । यो पटकको चुनावमा अग्रिम मतदान गर्नेको संख्या लगातार बढ्दो क्रममा देखिएको छ।

[sidebar name="button post"]