विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै

७ साउन । संयुक्त राष्ट्रसंघीय बालकोष युनिसेफले विश्वमा बालबालिकाको हेरचाहको अवस्था नाजुक बन्दै गएको बताएको छ ।

विश्वमा जारी रहेको कोरोना भाइरसको संकटका कारण यस्तो अवस्था रहेको मंगलबार युनिसेफले जनाएको हो । बालबालिकाले प्रारम्भिक शिक्षा लिने र उनीहरुको राम्रो हेरचाह र रेखदेख गर्नुपर्ने अवस्थामा ह्रास आएको युनिसेफको भनाई छ ।

प्राप्त समाचारअनुसार संयुक्त राष्ट्रसंघले नै हालैमात्र विश्वका कम्तीमा पनि ४ करोड बालबालिकाले प्रारम्भिक शिक्षा लिने, विद्यालय जाने र खेल्ने लगायतको वातावरण नपाएको अथवा यस्ता कार्यबाट बालबालिका बञ्चित हुन पुगेका उक्त प्रतिवेदनमा जनाइएको थियो ।

कोभिड १९ का कारण बालबालिकाले खेल्ने र विद्यालय या मन्टेश्वरी जान पनि नपाएकाले गर्दा विश्वमा बालबालिकाको हेरचाहको अवस्थामा पनि ह्रास आएको सो प्रतिवेदनमा जनाइएको थियो । बालबालिकाले पाउने यो सेवाका लागि बाल स्याहार केन्द्र या प्राथमिक विद्यालहरु पनि बन्द रहेकोले यस्तो अवस्था आएको युनिसेफले जनाएको हो ।

कतिपयले आफ्नो रोजगारी पनि गुमाउनु परेकोले गर्दा पनि उनीहरुले आफ्ना नानीबाबुहरुलाई हेरचाह गर्न सक्ने अवस्था नरहेको सो प्रतिवेदनमा उल्लेख गरिएको छ ।

युुनिसेफको सो प्रतिवेदनमा मध्य तथा निम्न आय भएका विश्वका ५४ देशका बालबालिका विशेषगरी यस्तो समस्यमा परेका बताइएको छ । ती देशका तीन देखि पाँच वर्षको उमेरका बालबालिका यस्तो समस्यामा परेका मंगलबार युनिसेफले सार्वजनिक गरेको प्रतिवेदनमा जनाइएको छ ।