फेसबुक र इन्स्टाग्राममा फर्किँदै डोनाल्ड ट्रम्प

अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम अकाउन्टमाथि लगाएको निलम्बन मेटा कम्पनीले फुकुवा गर्ने भएको छ ।

फेसबुक तथा इन्स्टाग्रामको मातृ कम्पनी मेटाले डोनाल्ड ट्रम्पको निलम्बन आगामी हप्ताहरुबाटै अन्त्य हुने र उनलाई फेसबुक तथा इन्स्टाग्राममा पुनरागमन गर्न अनुमति दिइने बताएको हो ।

मेटाका विश्व मामिला सम्बन्धी प्रमुख निक क्लेगले विज्ञप्ति निकालेर उनीहरुका राजनीतिज्ञहरु के भन्छन् भन्ने कुरा आम मानिसहरुले सुन्न पाउनुपर्ने बताएका छन् ।

ट्रम्प समर्थकहरुले सन् २०२१ मा अमेरिकी संसदमा छिरेर आतंक मच्चाएसँगै तत्कालीन अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि फेसबुक र इन्स्टाग्रामले अनिश्चितकालीन प्रतिबन्ध लगाएर उनको अकाउन्टलाई निलम्बन गरिदिएका थिए ।