युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले स्थानीय समय अनुसार बुधबार राति भिडियो सन्देश जारी गरेर नागरिकसँग रुसी आक्रमणकारीलाई रोक्ने प्रयास जारी राख्न अपिल गरेका छन् ।
रुसी आक्रमणकारीविरुद्धको युद्ध जारी राख्न आग्रह गरेका जेलेन्स्कीले उनीहरु (रुसी सैनिक) लाई रोकिरहेको र रोक्ने बताएका छन्।
जेलेन्स्कीले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेको भिडियोमा भनेका छन्, ‘हेरक आक्रमणकारीले थाहा पाउनु पर्छ कि उनीहरुले युक्रेनीहरुबाट कडा प्रतिवादको सामना गर्नु पर्ने छ ।’
‘हामी त्यो राष्ट्र हौँ जसले शत्रुका योजनाहरु एक हप्तामै रोक्यौँ । हामीले उनीहरुलाई रोक्यो’, जेलेन्स्कीले भनेका छन् ।
जेलेन्स्कीले अहिले राजधानी किएभको गोप्य स्थानमा छन् । सुरक्षाका कारण उनी बसिरहेको स्थानबारे केही बताइएको छैन ।
नियन्त्रणमा लिइएका रुसी सैनिकहरुलाई उनीहरु युक्रेनमा किन छन् र किन आक्रमण गरिरहेका छन् भन्ने जानकारी नै नरहेको भिडियो सन्देशमा जेलेन्स्कीले भनेका छन् । उनले भनेका छन्, ‘शत्रु पक्षका सैनिकहरु रुस तर्फ भागिरहेका छन् ।’
उनले रुसी सैनिकलाई ‘भ्रमित सन्तान’ भन्दै उनीहरुलाई नेता (भ्लादिमिर पुटिन) ले प्रयोग गरेको बताएका छन् ।
जेलेन्स्कीले रुसी सैनिकका लागि बाटो रोकेका कोनोतोप, बास्तान्का, एनेर्गोडार र मेलितोपोल शहरका बासिन्दालाई धन्यबाद दिएका छन् ।
उनले पछिल्लोपटक नर्वे, इजरायल, काजखस्तान, कतार, क्यानडा, पोल्याण्ड र युरोपियन परिषदका नेताहरुसँग कुराकानी गरेको पनि उल्लेख गरेका छन् ।









