ओमिक्रोनले विश्वभर संक्रमण तीव्र हुने जोखिम बढ्यो

कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनका कारण विश्वभर नै संक्रमण फेरि तीव्र गतिमा फैलिने जोखिम बढेको चेतावनी विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले दिएको छ।

ओमिक्रोनका कारण विश्वका केही क्षेत्रको अवस्था गम्भीर हुन सक्ने सोमबार डब्लुएचओले बताएको हो।

डब्लुएचओका प्रमुख डा टेडरोज आध्यनोम गेब्रेयेसोसले गरिब देशहरुमा खोपको पहुँच पुर्‍याउनका लागि पुनः विश्व समुदायसँग आग्रह गरेका छन्। खोपले नै कोरोना भाइरसलाई जित्न सकिने हुँदा सबैमा पहुँच पुग्नुपर्ने उनले बताउँदै आएका छन्।

दक्षिण अफ्रिकामा पहिलोपटक पहिचान भएको ओमिक्रोन भेरियन्ट प्रारम्भिक तथ्यहरुका आधारमा निकै संक्रामक देखिएको छ। यस्तै यो भेरियन्टका कारण पुनः संक्रमणको जोखिम पनि उच्च रहेको उल्लेख छ।

डब्लुएचओले सावधानीका सबै उपायहरु प्रभावकारी रुपमा कार्यान्वयन नभएको अवस्थामा ओमिक्रोन भेरियन्टले महामारीलाई गम्भीर चिन्ताको अवस्थातर्फ लैजाने चेतावनी दिएको छ।

[sidebar name="button post"]