अमेरिकालाई उछिन्दै चीन बन्यो विश्वकै धनी देश

१ मंसिर, बेइजिङ । अमेरिकालाई उछिन्दै चीन विश्वकै धनी देश बनेको छ । परमार्शदाता म्याकिन्से एण्ड कम्पनीले एक रिपोर्ट सार्वजनिक गर्दै पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीन गुणाले बढेको जनाएको हो ।

तथ्यांक अनुसार सन् २००० मा चीनको कुल सम्पत्ति ७ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा १२० ट्रिलियन डलर पुगेको छ । विश्वको कुल सम्पत्तिको एक तिहाई सम्पत्ति चीनको रहेको छ ।

पछिल्लो २० वर्षमा विश्वको कुल सम्पत्ति पनि तीन गुणाले बढेको छ । सन् २००० मा विश्वको सम्पत्ति १५६ ट्रिलियन डलर रहेकोमा सन् २०२० मा ५१४ ट्रिलियन डलर पुगेको हो ।

चीन विश्व व्यापार संगठन डब्लूटीओको सदस्य हुनुभन्दा एक वर्षअगाडिदेखिको तथ्यांक सार्वजनिक गरिएको हो । चीन २००१ को ११ डिसेम्बरमा डब्लूटीओको सदस्य भएको थियो । डब्लूटीओको सदस्य भएपछि चीनको अर्थतन्त्रमा तीव्र विकास भएको विज्ञहरुले बताउँदै आएका थिए ।

अमेरिकामा पछिल्लो दुई दशकको अवधिमा देशको कुल सम्पत्ति ९० ट्रिलियन डलर बढेको छ । विश्वकै ठूला अर्थतन्त्र भएका अमेरिका र चीन दुवै देशमा दुई तिहाईभन्दा बढी सम्पत्ति १० प्रतिशत मानिससँग मात्र छ ।

म्याकिन्से एण्ड कम्पनीले १० ओटा देशहरुको राष्ट्रिय तथ्यांकको आधारमा रिपोर्ट तयार पारेको हो । यी देशहरुले विश्वको आम्दानीको ६० प्रतिशत हिस्सा ओगट्छन् ।

चीन र अमेरिकाबाहेक रिपोर्टमा जर्मनी, फ्रान्स, बेलायत, जापान, स्वीडेन, मेक्सिको र अस्ट्रेलियालाई समावेश गरिएको छ । रिपोर्टअनुसार विश्वको कुल सम्पत्तिको करिव ६८ प्रतिशत सम्पत्ति घर-जग्गा क्षेत्रमा लगानी भएको छ ।