काठमाडाैँ । कोरोनाभाइरसको अत्यन्तै सङ्क्रामक डेल्टा भेरिअन्टसँग जोडिएको कोभिड प्रकोपकाबीच सिड्नीमा सङ्क्रमितहरूको सङ्ख्या १२८ पुगेको छ । अस्ट्रेलियाका अन्य भागहरूमा सङ्क्रमण पुष्टि हुने क्रम जारी छ ।
अस्ट्रेलियाका विभिन्न भागहरूमा महिनौँयता पहिलो पटक कोरोनाभाइरस सङ्क्रमण देखिएको हो ।
विभिन्न राज्यहरूले सङ्क्रमण फैलिन नपाओस् भनेर नयाँ प्रतिबन्धात्मक व्यवस्था लागु गरेको र आफ्नो नाकासमेत बन्द राखेका बेला अर्थमन्त्री जस फ्राइडनबर्गले यो राष्ट्रका लागि ‘निकै महत्त्वपूर्ण समय’ रहेको बताएका छन्
कोभिड सङ्क्रमणको बढ्दो घटनाहरूका कारण सिड्नीका विभिन्न सहरहरूमा लकडाउन लागु गरिएको छ । झन्डै ५० लाख मानिसहरू बसोबास गर्ने सिड्नीको अवस्था चिन्ताको विषय बनेको छ ।
महामारीभरी कडा प्रतिबन्धात्मक व्यवस्था, क्वारन्टीन, तीव्र गतिमा परीक्षण अनि कनट्याक्ट ट्रेसिङ र सीमा बन्द गर्ने लगायतका नीतिका कारण अस्ट्रेलियामा कोरोनाभाइरस सङ्क्रमितको दर निकै कम छ । यो वर्ष त्यहाँ कोरोनाभाइरसका कारण कसैको पनि मृत्यु भएको छैन । हालसम्म अस्ट्रेलियामा कोभिडसम्बन्धी रोगका कारण ९१० जनाको मृत्यु भएको छ भने सङ्क्रमितहरूको कुल सङ्ख्या ३०,४५० छ । –बीबीसी









