अमेरिकाले विश्वका अरु मुलुकलाई अनुदान दिन ५० करोड खोपको मात्रा खरिद गर्ने

२७ जेष्ठ, बीबीसी । अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले दुई वर्षको अवधिमा ५० करोड फाइजर खोपको मात्रा करिब १०० वटा देशलाई उपलब्ध गराउने संयुक्त राज्य अमेरिकाका सञ्चारमाध्यमहरूले जनाएका छन्। यो वर्ष झण्डै २० करोड मात्रा उपलब्ध गराइने छ । बाँकी मात्रा सन् २०२२ मा वितरणको तयारी अमेरिकाले गरेको हो ।

विश्वका गरिब देशहरुलाई प्रदान गर्ने खोपको मात्रा बढाउन अमेरिकामाथि दबाब पर्दै आएको छ । राष्ट्रपति बाइडेन सत्तामा आएपछिको आफ्नो पहिलो विदेश भ्रमणको क्रममा बेलायत अवतरण भएपछि अमेरिकाको खोप सम्बन्धी नयाँ तयारीबारे जानकारी भएको हो ।

विश्वभर ५० करोड मात्रा खोप वितरण गर्ने योजनाबारे राष्ट्रपति कार्यालय ह्वाइट हाउसले औपचारिक रुपमा जानकारी दिन भने बाँकी नै छ । र विदेश भ्रमणमा निस्कने क्रममा राष्ट्रपति बाइडेनले आफूसँग विश्वलाई खोप वितरण गर्ने सम्बन्धमा एक योजना रहेको त्यो चाँडै घोषणा गर्ने बताएका छन् ।

समाचार संस्था रोयटर्सका अनुसार अमेरिकाले विश्वका कम आय भएका ९२ देश र अफ्रिकी सङ्घलाई उक्त खोप सहयोग गर्ने जनाएको छ। । बाइडेन बुधबार बेलुका बेलायत पुगेका छन् । उनले आरएएफ मिल्डेनहलमा रहेको एअरबेसमा अमेरिक सैनिकलाई सम्बोधन गरेका छन् । उनले आफ्ना सहयोगी देशहरुलाई धन्यवाद दिँदै अमेरिका फेरि विश्व नेतृत्वमा फर्किएको पनि बताएका छन् ।

जी सेभेनमा विश्वका सात समृद्ध अर्थतन्त्र भनिने देशहरू क्यानडा, फ्रान्स, जर्मनी, इटली, जापान, यूके र संयुक्त राज्य अमेरिका अनि युरोपेली स‌ङ्घ पनि आबद्ध छ।

यसपटक शिखर बैठकमा कोभिडपछिको पुनर्स्थापना र बलियो स्वास्थ्य प्रणालीबारे छलफल हुनेछ।