राष्ट्रपतिलाई महाअभियोग लगाउनु पर्ने भन्दै ब्राजिलमा विशाल प्रदर्शन

कोरोनाभाइरसको महामारी नियन्त्रणमा लापरबाहीपूर्ण तरिकाले काम गरेको भन्दै दक्षिण अमेरिकी मुलुक ब्राजिलका राष्ट्रपति जैर बोल्सोनारोविरूद्ध महाअभियोग लगाउनु पर्ने माग उठेको छ।

कोरोना महामारीलाई सुरूदेखि नै हलुका ढंगले लिइरहेका बोल्सोनारोलाई महाअभियोग लगाउनु पर्ने माग राखेर शनिबार ब्राजिलभरि लाखौं मानिसहरूले प्रदर्शन गरेका छन्। दुई सय बढी सहरमा बोल्सोनारोविरुद्ध प्रदर्शन भएको हो।

शनिबारको प्रदर्शन कोरोना महामारी सुरू भएपछि बोल्सोनारोविरूद्ध भएको पहिलो ठूलो प्रदर्शन हो।

कोरोनाका कारण आफन्त गुमाएकाहरूले उनीहरूको सम्झनामा हातले लेखेका नाराहरू बोकेर प्रदर्शनमा सहभागी भएका थिए।