भारतमा बढ्दो संक्रमण, यसका मुख्य कारकहरु

सन् २०२० को मार्चको शुरुआतमा नयाँदिल्लीस्थित निजामुद्दीनमा मुस्लिम संस्था तबलीगीको एक धार्मिक सभा आयोजना गरिएको थियो । मार्च १ देखि १५ सम्म सञ्चालन भएको सो सभामा करिब आठ हजार जना सहभागी भएका र त्यहाँ नेपालसहित एसियाका कैयौँ देशका मुस्लिम समुदायका नागरिकहरु सहभागी भएका थिए ।

गत वर्ष पनि कोरोनाको सङ्क्रमण फैलिन नदिन भारत सरकारले सभा सम्मेलन गर्न रोक लगाएका बेला यो धार्मिक सभा भएको थियो । सभा भएको स्थान नजिकै पर्ने दक्षिणी दिल्लीका मानिसमा गरिएको परीक्षणमा कोरोना भाइरस पोजेटिभ रिपोर्ट आएपछि भारतभर त्रास फैलिएको थियो । सो सभामा सहभागीहरुबाट नै भारतका धेरै राज्यमा यो सङ्क्रमण पुगेको बताइएको थियो । यतिमात्र नभएर भारतमा सो सभाबाट फर्किएका मानिसहरुबाट पछि अरु देशसम्म पनि यो सङ्क्रमण पुगेको भनी नेपालसहित अरु पनि एसियाली देशमा सो सभाबाट फर्किएका मानिसहरुको खोजी भएका समाचारहरु आएका थिए ।

त्यतिबेला भारतीय सञ्चारमाध्यमहरुले दिएअनुसार उक्त सभामा नेपालसहित अफगानिस्तान, मलेसिया, इन्डोनेसिया, म्यानमार, कीर्गिस्तान, थाल्याण्ड, श्रीलंका, बंगलादेश, इंगल्याण्ड, फिजी, फ्रान्सलगायत मुलुकका नागरिक सहभागी भएका थिए । यसअघि मलेसिया र दक्षिण कोरियामा पनि यस्तै धार्मिक सभाहरुबाटै कोरोनाको भाइरस मुलुकभर फैलिएको बताइएको थियो ।

त्यतिबेला मुस्लिम सभाबाट कोरोना फैलिएको भनेर भनिएजस्तै अहिले पनि भारतीय सञ्चारमाध्महरुले हाल त्यहाँ विस्तारित दोस्रो लहरको विस्तारको कारक पनि अघिल्लो महिना भारतको हरिद्वारमा भएको कुम्भ मेलालाई बनाएका छन् । अघिल्लो महिना अर्थात् अप्रिलमा कुम्भमेला नुहाउन पुगेका लाखौं तीर्थयात्रीलाई नै भारतमा अहिले कोरोना भाइरस (कोभिड–१९) को दोस्रो लहर फैलाउने कारकका रुपमा लिइएको छ ।

हुनपनि कुम्भ मेला नुहाउन शुरु भएसँगै यता भारतमा कोभिडका सङ्क्रमितहरु थपिने क्रम शुरु भएको हो । कुम्भ मेलामा गएर फर्किएका मानिसहरुमा कोरोना सङ्क्रमण पुष्टि हुन थालेसँगै शुरु भएको आशङ्का अहिले देशव्यापी बनेको छ । शुरुमा यही मेलामा गएर फर्किएका मानिसबाट शुरु भएको भनिएकोमा अहिले पुष्टि नै भएको बताइएको छ ।

अप्रिलको शुरुआतबाट शुरु भएको यो मेलामा अप्रिल १२ मा एकैदिन कम्तीमा पनि ३० लाख मानिसले कुम्भमेलामा गंगा स्नान गरेका थिए । यस मेलाका क्रममा यहाँका गंगामा स्नान गर्दा मानिसको सबै पाप पखालिने विश्वास भारतीय हिन्दू धर्मावलम्बीहरुमा रही आएको छ । अप्रिलको शुरुआतबाटै शुरु भएको यो मेला त्यस दिनसम्म आइपुग्दा भारतमा एक लाख ६८ हजारभन्दा धेरै नयाँ संक्रमित पनि फेला परेका थिए । यही हप्तादेखि नै सङ्क्रमण सङ्ख्याको आधारमा भारतले ब्राजिललाई उछिन्दै दोस्रो स्थानमा आइपुगेको थियो ।

यहाँका स्थानीय सरकारहरु जनस्वास्थ्यका मापदण्ड पालना गर्न आग्रह गरिरहेका र सुरक्षा अधिाकरीहरु पनि खटाएका भए पनि त्यो सम्भव नभएको स्वास्थ्य अधिकारीहरु बताउँछन् । उनीहरु त्यति ठूलो भिडमा जनस्वास्थ्यको नियम पालना गराउनु असम्भव नै रहेको बताउँछन् । यो मेला सकिने अन्तिम साता अप्रिल २५ देखि मे १ सम्ममा उत्तराखण्डमा मात्र करिब ४० हजार जना नयाँ सङ्क्रमित थपिएका थिए ।

आधाभन्दा पनि बढी मास्क नलगाएका लाखौँलाख तीर्थालुहरुको ठूलो समूह नदीको किनारामा बसेर गंगा स्नान गर्ने, भजन किर्तत गर्ने तथा आजापूजा गर्ने गरेका थिए।यहाँबाट कोरोना सङ्क्रमण फैलिन मद्दत पुगेको यहाँका जनस्वास्थ्यविद्हरुहरुको राय छ । उनीहरु भन्छन् “हामीलाई यसअघि नै चर्च र मन्दिरमा गएर प्रार्थना गर्ने कार्यबाट निकै ठूलो मात्रामा नै कोरोना सङ्क्रमण फैलिनसक्छ भन्ने लागेको थियो नभन्दै त्यस्तै भएको छ, वास्तवमा अहिलेको यो सङ्क्रमणका लागि सबै या पूरै यही कारण नै हो भन्न त सिकँदैन तर यसपालिको महामारी विस्तारमा यो मेलाका ठूलो हात भने छ ।”

भारतका राज्य सरकारहरुले कुम्भमेलाबाट फर्किएका मानिसलाई १४ दिन अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्ने नियम बनाएका थिए । तर लाखौँलाख मानिस घर फर्किएर यो नियम पालना नगरेको अधिकारीहरुले बताएका छन् । राजस्थानका स्वास्थ्य अधिकारीहरुले त राज्यमा कोरोना सङ्क्रमण फैलिनुमा कुम्भमेलामा गएका तीर्थयात्रीहरु दोषी रहेको बताएका छन् । विशेषगरी ग्रामीण क्षेत्रमा सङ्क्रमण फैलाउन उनीहरुले भूमिका निर्वाह गरेको उनीहरूको भनाइ छ ।

महिना दिन चलेको सो मेलामा करिब ९१ लाख तीर्थयात्रीले हरिद्वारको भ्रमण गरेको मेला आयोजकहरु बताउँछन् । भारतमा चलि नै रहेको यस्तो महामारीको बीचमा कुम्भ मेलालाई अनुमति दिएर सरकारको आलोचना पनि व्यापक मात्रामा भएको थियो । यसअघिका प्रायः मेला तथा यस्ता सार्वजनिक कार्यक्रमहरु गर्न नदिएको सरकारले कुम्भ मेलाको आयोजना गर्न दिँदा विवाद भएको थियो ।

उत्तराखण्डका पूर्व मुख्यमन्त्री त्रिवेन्द्र सिंह रावतले बीबीसीसँगको कुराकानीमा कुम्भ मेलालाई सीमित सङ्ख्याका मानिसहरु मात्र उपस्थित हुन दिएर एक प्रकारको प्रतिकात्मक कार्यक्रमका रुपमा मेलाको आयोजना गर्ने योजना रहेको बताउनुभएको थियो । भारतका विशेषज्ञहरुले यो महामारी अब छिटै सकिने सम्भावना नरहेकोले मेलाको आयोजना पूर्ण रुपमा खुला गरेर गर्न नहुने बताएका र आफूहरुले पनि त्यसै गर्ने योजना बनाएको भए पनि पछि सरकारले खुला गरेको उहाँको भनाई छ ।
भारतको अहिलेको अवस्था

भारतमा कोरोना विरुद्धको खोप पनि लगाइएको छ । यसलाई भारतले राष्ट्रव्यापी अभियानकै रुपमा शुरु गरेको थियो तर दोस्रो लहरका कारण त्यहाँ गाह्रो भएको छ । तर पनि अघिल्लो हप्तासम्म भारतले करिब चार करोड मानिसलाई खोप दिइसकेको छ । भारतमा नै बनेको कोभ्याक्सिनको दुवै डोज लगाएका मानिस पनि सङ्क्रमित भने भएकै छन् । यो खोप लगाएका १७ लाख मानिसमध्ये करिब ८ हजार जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको इन्डियन काउन्सिल अफ मेडिकल रिसर्च (आईसीएमआर) ले अप्रिलको अन्त्यतिर गरेको एक अनुसन्धानमा जनाएको थियो ।

भारतले फ्रन्टलाइन र जोखिम समूहलाई मात्र खोप दिएको छ । पहिलो डोज लगाएका धेरैजसो सङ्क्रमित फ्रन्टलाइन कामदार र स्वास्थ्यकर्मी हुन् । उनीहरु धेरै व्यक्तिको सम्पर्कमा आउनुपर्ने भएकाले नै यही वर्गलाई सबैभन्दा पहिला खोप दिइएको भारतीय स्वास्थ्य अनुसन्धान विभागका सचिव तथा आइसीएमआरका महानिर्देशक डा.बालराम भार्गवले बताउनुभएको थियो ।

भारतमा डबल म्युटेन्ट भाइरस भेटिएको पुष्टि भइसकेको छ । नयाँ प्रजातिको यो भाइरसका कारण पहिलो लहरको तुलनामा दोस्रो लहरमा यति बिघ्न सङ्क्रमण फैलिएको गत मार्च २४ मा भारतको स्वास्थ्य मन्त्रालयले एक प्रेस वक्तव्यमा जनाएको छ । अझ त्योभन्दा पनि ठूलो चिन्ताको विषय त यो भएको छ कि कतै नयाँ प्रजातिको यो भाइरसले देशव्यापी रुपमा दिइएको खोपलाई नै प्रभाव पार्ने पो हो कि अर्थात् यो नयाँ प्रजातिलाई खोपले काम गर्ने हो कि नगर्ने भन्ने हो । तर अनुसन्धानहरुले खोपले यो नयाँ प्रजातिको सङ्क्रमणलाई पनि काम गरिरहेको देखाएका छन् ।

यहाँ अप्रिलको शुरुदेखि नै सङ्क्रमण दिन प्रतिदिन बढ्दै गयो । अहिले पनि केही दिनयता देखि यसको दरमा कमी आएको देखिएको छ । अप्रिलको अन्त्यसम्म यहाँ प्रतिदिन कम्तीमा पनि चार लाख सङ्क्रमित देखिएका थिए भने अहिले त्यसमा कमी आएको छ । यहाँ पछिल्लो समयमा दुई लाखभन्दा केही सङ्क्रमित हरेक दिन छ ।