२५ वैशाख, एजेन्सी। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चिनियाँ कम्पनी सिनोफार्मले विकास गरेको कोरोनाविरुद्धको खोपलाई आपतकालीन प्रयोगमा ल्याउन अनुमति दिएको छ ।
डब्ल्यूएचओले अनुमति दिएको गैरपश्चिमी देशको यो पहिलो कोरोनाविरुद्धको खोप हो । डब्लुएचओले यसअघि फाइजर, एस्ट्राजेनेका, जोन्सन एण्ड जोन्सन र मोदेर्नाको खोपलाई मात्रै स्वीकृति प्रदान गरेको थियो ।
सिनोफार्मको खोप चीनले यसअघि नै विश्वका धेरै नागरिकलाई उपलब्ध गराइसकेको छ । अफ्रिका, ल्याटिन अमेरिका र एशियाका धेरै देशहरुले चिनियाँ सिनोफार्मको खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएका छन् ।
डब्ल्यूएचओले शुक्रबार सिनोफार्मको खोपलाई अनुमति दिँदै यसको दुई डोज दिनुपर्ने र यो १८ वर्षभन्दा माथिका व्यक्तिहरुले मात्र प्रयोग गर्नुपर्ने जनाएको बीबीसीले जनाएको छ ।












