१३ चैत, एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो कार्यकालको एक सय दिनमा २० करोड अमेरिकी नागरिकलाई खोप दिने लक्ष्य राखेको बताएका छन् । अमेरिकामा कोरोना भाइरसका नयाँ बिरामी बढ्दै गएका बेला बाइडेनले यस्तो महत्वाकांक्षी लक्ष्यको घोषणा गरेका छन् ।
बाइडेनले भने,’आज म दोस्रो लक्ष्य निर्धारित गरिरहेको छु । हामी आफ्नो कार्यकालको पहिलो एक सय दिनमा २० करोड नागरिकलाई कोरोनाविरुद्धको खोप दिनेछौँ ।’ राष्ट्रपति जो बाइडेनले आफ्नो लक्ष्य महत्वाकांक्षी भए पनि पूरा गर्न आफूहरु सफल हुने विश्वास व्यक्त गरेका छन् ।
यसैबीच, कोरोना भाइरसविरुद्ध अमेरिकामा अहिलेसम्म १३ करोड कोरोना खोपको डोज वितरण भइसकेको छ । कोरोनाका कारण सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा अहिलेसम्म तीन करोडभन्दा धेरैलाई संक्रमण भएको छ । गएको २४ घण्टामा मात्रै ६२ हजारभन्दा धेरै नयाँ सङ्क्रमित भेटिएका छन् । यस्तै गएको २४ घण्टामा १ हजार २४ जनाको ज्यान गएको छ ।
अहिलेसम्म संक्रमणका कारण ५ लाख ५९ हजारभन्दा धेरैले ज्यान गुमाएका छन् भने दुई करोड ३१ लाखभन्दा धेरैले कोरोनालाई जितेका छन् ।











